१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सीमा क्षेत्रमा नेपालीहरुले कति सहनु ज्यादती ? (भिडियो)


0
Shares

रोजगारी गर्न भारत गएका हजारौं नेपाली घर फर्कने क्रममा सीमाक्षेत्रमा भीड नै लागेको छ ।

तर वर्षभरी भारतमा काम गरी फर्कदा सिमा क्षेत्रवाट हुने लुटपाट र जेकजाँचको निहुँमा हुने सास्ती भने रोकिएको छैन ।

दशैं–तिहारलगायतका चाडपर्व नजिकिएसँगै विभिन्न समयमा भरतीय शहरमा रोजगारी गर्न गएका नेपालीहरु अहिले कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किरहेका छन् ।

मध्यपश्चिम र सुदूरपश्चिमका दाङ, दैलेख, रोल्पा, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, बझाङ, अछामलगायतका जिल्लाका सर्वसाधारण दशैं मान्न गौरीफन्टा र गड्डाचौकी नाकाबाट फर्किने गरेका हुन् ।

कतिपय व्यक्ति रुपेडियाबाटसमेत फर्कने गरेका छन् । अहिले दैनिक ३ हजारदेखि ३५ सय नेपाली दशैं मान्न विभिन्न नाकाहुँदै फर्किरहेको उद्योग वाणिज्य संघ कञ्चनपुरका सदस्य धर्मसिंह रावलले जानकारी दिए ।

उत्साहका साथ दशैं मान्न फर्किरहेकाहरुले सीमा क्षेत्रमा भने ठूलो सास्ती खेप्नु परेको छ ।

नेपालीहरुलाई सिमाक्षेत्रमा नसालु पदार्थ खुवाएर लुटपाट गर्ने, चेकजाँचको नाममा भारतीय सुरक्षाकर्मीले रकम असुल गर्ने, नदिए कुटपिट गर्ने र विनाकारण दुःख दिने गरेको गुनासो उनीहरुले गरेका छन् ।

सीमा क्षेत्रमा हुने गरेका ज्यादती नियन्त्रणका लागि नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुबीच पटकपटक छलफल हुने गरेको छ ।

दुई देशका अधिकारीहरुबीच सिमा क्षेत्रमा हुने गरेका अनैतिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति पनि पटकपटक हुने गरेको छ । तर नेपालीहरुले भोग्दै आएको सास्ती भने अझै रोकिएको छैन ।

दुवै पक्षका प्रशासनबाट अनुगमन नहुँदा सीमा क्षेत्रमा सर्वसाधारणले सास्ती खेप्नुपरेको युवा व्यवसायी तथा समाजसेवी उमेश पाण्डेय बताउँछन् ।

दशैं मान्न नेपाल फर्किरहेकाहरुमाथि भारतीय टाङ्गा, अटो र रिक्सा चालकले समेत बढी भाडा लिएर दुःख दिने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी भने सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताउँछन् । उनले बढी भाडा असुल गर्ने यातायात व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए ।

नेपाल र भारतबीचको खुला सिमानाका कारण पनि धेरै नेपालीले दुःख पाउँदै आएका छन् ।

चाडबाड मान्न स्वदेश फर्किएकाहरुलाई सीमा क्षेत्रमै हुने गरेको ज्यादती रोक्न दुवै पक्षका सुरक्षाकर्मी र प्रशासनिक निकायले सक्रियता बढाउनु आवश्यक छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस