२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बेसीशहर-चामे सडकको खुदी खोलामा रहेको बेलिब्रिज जीर्ण


0
Shares

बेलिब्रिजको पत्ता खिया लाग्नुको साथै ठाउँ ठाउँमा प्वाल परेको छ । जडान गरिएको पत्ताको नट फुत्किएको छ ।

पत्ता उप्किने र दुलो परेपछि पैदल यात्रु र सवारी साधन वारपार गर्न समस्या भएको स्थानीयले बताएका छन् ।

सो पुलमा बालबालिका दुर्घटनामा पर्ने गरेको स्थानीय बताउँछन् । खुदीबजारका शेषकान्त घिमिरेले पुलको प्वालमा खुट्टा अड्किएर बालबालिका घाइते हुने गरेको बताए ।

उनले सम्बन्धित निकायलाई छिटो पुल मर्मत गर्न आग्रह समेत गरे । बेसीशहर–चामे सडक निर्माणको क्रममा नेपाली सेनाले पाँच बर्षअघि सो बेलिव्रिज निर्माण गरेको हो ।

१९ टन क्षमताको बेलिव्रिजमा क्षमताभन्दा बढीका लोड गाडी आवतजावत हुँदा पुल भत्किएको स्थानीय बताउँछन् ।

माथिल्लो क्षेत्रमा जलविद्युत आयोजना निर्माणका क्रममा रहेकाले सो पुलबाट बढी क्षमताका गाडी हिड्ने गरेका छन् ।

मस्र्याङ्दी गाउँ पालिकाका अध्यक्ष अर्जुन गुरुङले बेलिब्रिज मर्मतका लागि डिभिजन सडक कार्यालय दमौलीलाई आग्रह गरिएको बताए ।

डिभिजन सडक कार्यालय दमौलीका डिभिजन ईन्जिनियर भानु जोशीले खुदी खोलाको जीर्ण बेलिब्रिज छिट्टै मर्मत गरिने बताए ।