
उनी ओमन हुँदै बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री देउवाले राष्ट्रसंघको महासभामा भाग लिइ स्वदेश फर्कनेक्रममा ओमनको तीनदिने भ्रमणसमेत गरेका थिए ।
स्वदेश फर्किएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण सफल भएको बताए ।
उनले राष्ट्रसंघ महासभामा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयनलगायतका विषयमा जानकारी दिएको बताए ।
नेपालको शान्ति–प्रक्रिया र संविधान कार्यान्वयनबारे विश्वले प्रशंसा गरेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
राष्ट्रसंघको ७२औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा यही असोज ३ गते अमेरिकाको न्यूयोर्क गएका थिए । उनले असोज ७ गते महासभालाई सम्बोधन गरेका थिए ।
१९३ मुलुक सहभागी राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयनलगायत विषयमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत थिए । उनीहरु पनि बिहीबारै स्वदेश फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्