Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेकपाको कार्यदल के गर्दैछ ? पोलिट्ब्यूरो गठनबारे सदस्यहरुबीच मतभेद


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, पुस २६ । मंसिर २९ गतेदेखि करिब दुई हप्ता लामो बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गर्‍यो ।

स्थायी कमिटीले दिएको कार्यादेशानुसार कार्यदलले संगठनात्मकलगायत एकतामा बाँकी रहेका अन्य विषय टुंगो लगाउन गोप्यरुपमा निरन्तर छलफल गरिरहेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको ७ महिना बितिसक्दा पनि सांगठनिक एकताले पूर्णता पाउन नसकेपछि पुस दोस्रो सातासम्म बसेको नेकपा स्थायी कमिटी बैठकले एक कार्यदल गठन गर्‍यो ।

यसअघि बनेका कार्यदलले पार्टी एकताका बाँकी रहेका विषय टुंगो लगाउन नसकेपछि स्थायी कमिटीले पार्टी एकताका संगठनात्मकलगायतका विषयमा टुंगो लगाएर प्रतिवेदन पेस गर्ने कार्यादेश दिएर पछिल्लो कार्यदल गठन गरेको हो ।

कार्यादेशानुसार कार्यदलले आचारसंहिता, कार्यविधि र मापदन्ड बनाएर काम गरिरहेको छ ।

कार्यदलका एकजना सदस्यले सांगठनिकलगायत अन्य टुंगो लाग्न बाँकी विषयमा कार्यदल निरन्तर छलफलमा रहेको जानकारी दिए ।

हामीसितको अनौपचारिक कुराकानीमा कार्यदलका ती सदस्यले एकताका बाँकी विषयमा कार्यदल सहमतिनजिक पुगेको र माघ पहिलो हप्ता प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिए ।

तर, स्रोतकाअनुसार कार्यदलमा पोलिट्ब्यूरो गठनबारे सदस्यहरुबीच मतभेद देखिएको छ ।

कार्यदलमा रहेका पूर्वमाओवादीका सदस्यहरुले पोलिट्ब्यूरोमा ५० प्रतिशत दाबी गरेका छन् । तर, पूर्वएमालेका सदस्यहरुले भने ६०/४० कै आधारमा पोलिट्ब्यूरो गठन हुनुपर्ने अडान राखेका छन् ।

नेकपामा अहिले ४४१ सदस्यीय केन्द्रीय समिति छ । केन्द्रीय समितिमा रहेका सदस्यहरुको संख्याको एकतिहाइ अर्थात् १४७ सदस्यीय पोलिट्ब्यूरो बन्नेछ ।

संगठनात्मक एकीकरणको बाँकी काम टुंगो लगाउन गठित कार्यदलमा विधान परिमार्जन र प्रदेश कमिटीको नामावली हेरफेर गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल भइरहेको एकजना सदस्यले जानकारी दिएका छन् ।

नेकपामा अहिलेपनि पोलिट्ब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, भ्रातृसंघ–संगठनहरुको एकता, जिल्ला, जिल्लाभन्दा तल्लो तहको सांगठनिक एकीकरण हुन बाँकी छ ।