
हाल सो सडकमा दैनिक ८ हजारदेखि १० हजार सवारी–साधन आवत–जावत गर्ने गर्छन् । आउँदो पाँच वर्षभित्रमा यो संख्या १५ हजार हाराहारी पुग्ने अनुमान छ ।
हाल विस्तार भइरहेको सडकले पाँच वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएको छ ।
जसका कारण सो सडकको विकल्पकोरुपमा धादिङको मलेखुबाट चितवनको भन्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न पहिलो विकल्पकारुपमा अघि सारिएको छ भने दोस्रो विकल्पकारुपमा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैंडाकोटसम्मलाई लिइएको छ ।
यी दुवै विकल्पका सडकको विस्तृत् डिजाइनका लागि परामर्शदाता छनोट गरिसकिएको सडक विभागको एसियाली विकास बैंक आयोजनाका निर्देशक केशवकुमार शर्माले बताए ।
यी दुई सडकसँगै अन्य सातओटा सडक र तीनओटा पुलसमेतको डिजाइनका लागि कोरियन परामर्शदाता छनोटमा परेको छ । आउँदो साता कामको सम्झौता गरिने उनले बताए ।
अन्य सडक र पुलका लागि एक वर्ष ६ महिनाको समय तोकिएको भएपनि मलेखुबाट भन्डारासम्मको सडकका लागि भने एक वर्षभित्रमा परामर्शदातालाई प्रतिवेदन बुझाउन भनिएको छ ।
बाटो खोलिसकेको र सडकमा सवारी कम गुड्ने हुँदा काम गर्न पनि सहज हुने भएकाले छिटो निर्माण गर्न सकिने अनुमान छ ।
दोस्रो विकल्पकारुपमा लिइएको मुग्लिन–देवघाट–गैंडाकोट सडक पनि चट्टानको फेदमा नदीको तिरैतिर बनाउनुपर्ने हुन्छ ।
हालको नारायणगढ–मुग्लिन सडकलाई विस्तार गर्न कठिन हुँदा विकल्पकारुपमा मानिएको भएपनि धेरै फराकिलो भने सो सडक बनाउन कठिन देखिएको छ ।
पश्चिमबाट आउने सवारीलाई सो सडक प्रयोग गरेर, पूर्वबाट आउने सवारीलाई भन्डारा–मलेखु सडक प्रयोग गर्दा सवारी चाप व्यवस्थापन गर्न सकिने अनुमान छ । रासस
प्रतिक्रिया दिनुहोस्