
नागरिक उड्डयन प्राधिकरणबाट स्तरोन्नतिको काम भएको सुकेटार विमानस्थललाई तीन वर्षअघि ६०० मिटरबाट बढाएर ९३० मिटर बनाइयो ।
तर, कालोपत्रे भएको यतिका वर्ष बितिसक्दासमेत नेपाल वायुसेवा निगम र निजी विमानले उडान नभर्दा स्थानीय मर्कामा परेका छन् ।
ताप्लेजुङबाट काठमाडौं र काठमाडौबाट ताप्लेजुङ जाने यात्री तथा पर्यटकले महान चाड दसैंमासमेत हवाई सेवा पाएनन् ।
‘केही दिनमा चल्छ’ भन्दै यात्रीले बुकिङ गरेको टिकटसमेत अन्तिम समयमा आएर फिर्ता गर्दा योपटक ताप्लेजुङ भित्रने र बाहिरिने यात्रीले निकै सास्ती भोग्नुप¥यो ।
जहाज पर्खिएका जटिल रोगका बिरामीहरु स्थलमार्ग हुँदै विभिन्न अस्पतालमा पुग्नुपर्ने बाध्यता भयो ।
मौसममा आएको खराबीका कारण गत जेठ अन्त्यदेखि रोकिएको सेवा हालसम्म पनि सन्चालन नहुँदा यात्री मर्कामा परेका हुन् ।
दोहोरो धावनमार्ग बनाइ कालोपत्रे गरेर तयार पारिएको विमानस्थल पनि चाहिएको समयमा सन्चालन नहुँदा ताप्लेजुङसहित मेची पहाडी क्षेत्रका स्थानीय आक्रोशित बनेका छन् ।
सुकेटारमा विमान सन्चालनका लागि स्थानीयले पटक–पटक दबाब दिँदासमेत विभिन्न प्राविधिक कठिनाइ देखाउँदै नेपाल वायुसेवा निगमले विमान सन्चालन नगरेको स्थानीयको गुनासो रहेको छ ।
केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र ताप्लेजुङ सरोकार केन्द्रबीच भएको छलफलपछि हवाई सेवा सन्चालन गर्ने सहमति भएपनि हालसम्म सेवा सुरु हुन नसकेको सांसद भूपेन्द्र थेबे बताउँछन् ।
सुकेटारमा चार वर्षअघिसम्म दक्षिणी मोहडाबाटमात्र जहाज अवतरण गराउन सकिन्थ्यो । तर, अहिले उत्तर–दक्षिण दुवै मोहडाबाट जहाज अवतरण गराउन सकिन्छ ।
अझ त्यसपछि विमानस्थललाई कालोपत्रे पनि गरेर बाह्रै महिना सन्चालन हुने बनाइएको भनिएपनि चाडपर्वको समयमासमेत सन्चालनमा नआउँदा यात्रीहरु आक्रोशित बनेका हुन् ।
मेची राजमार्गमा पहिरो खसिरहने भएकाले ताप्लेजुङबाट विराटनगर र काठमाडौं जाने र आउने यात्रीले हवाई सेवा नै रोज्ने गरेका छन् ।
विमानस्थल कालोपत्रे भएपछि नेपाल वायुसेवा निगमबाहेक निजी कम्पनी गोमा र तारा एअरले पनि उडान सन्चालनमा ल्याएका थिए ।
साताको मंगलबार र शुक्रबार गोमा एअर तथा शुक्रबार तारा एअरले उडान भर्दै आएकोमा हाल ती उडान पनि बन्द रहेका छन् । नेपाल वायुसेवा निगमले पनि काठमाडौं–ताप्लेजुङमात्र सेवा दिँदै आएको थियो ।
कन्चनजंघा र पाथीभराको मुख्य प्रवेशद्वारकारूपमा सुकेटार विमानस्थल समुद्र सतहबाट दुई हजार ४८० मिटर उचाइमा रहेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्