Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


वर्ल्ड कप फुटबलको पूर्वाधार निर्माणमा खटिएका नेपाली कामदारलाई विभेद


0
Shares

वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिक खटिएका छन् ।

वर्ल्ड कप आयोजक निकाय (सुप्रिम कमिटी) ले सदर गरेको निर्णयमा कतारमा निर्माण क्षेत्रको सुरक्षा तालिममा अनुभवी मानिएको कतार इन्टरनेसनल सेफ्टी सेन्टरले यो विशेष कार्यक्रमको जिम्मेवारी पाएको छ ।

सेन्टरले तत्काल अंग्रेजी, हिन्दी, उर्दु, तागालोग (फिलिपिनो) र मलायालम भाषामा सम्बद्ध भाषीलाई तालिम सुरु गर्दैछ ।

यी भाषाले भारत, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सका कामदारलाई समेट्छ । कामदारको उपस्थिति र अनुपातमा भारतीयपछि नेपालीको संख्या बढी भए पनि नेपाली भाषालाई भने यो तालिम अवसरमा फिफाको सुप्रिम कमिटीले समेटेको छैन ।

कतारको निर्माण क्षेत्रमा काम गर्ने अदक्ष कामदारको सबैभन्दा ठूलो हिस्सा नेपाली कामदारले ओगटेका छन् ।

यो समूहका लागि क्षमता अभिवृद्धि तथा सुरक्षा सचेतना तालिम अझ महत्त्वपूर्ण हुने गरेको छ ।

‘यो निर्णयमा हिन्दीभाषीको दृष्टिकोणबाट नेपालीलाई हेरिएको अवस्था छ,’ कतारमा रहेर श्रमिक मामिलामा काम गर्दै आएका एक अधिकारकर्मी भन्छन्, ‘जब कि कतारमा श्रमसम्झौतादेखि कामदार भर्तीका अरू औपचारिक प्रक्रिया नेपाली भाषामा उपलब्ध हुनुपर्ने ससर्त प्रावधान तय भइसकेको छ । तर यिनै कामदारलाई तालिम दिने प्रबन्धमा भने नेपाली भाषालाई समेटिएको छैन ।’
-कान्तिपुर दैनिकबाट