सरकारबाट नियुक्ती पाइसकेकाहरुलाई काँग्रेसबाट उम्मेदवार नबनाउन माग • Image Khabar Image Khabar


सरकारबाट नियुक्ती पाइसकेकाहरुलाई काँग्रेसबाट उम्मेदवार नबनाउन माग


Imagekhabar
२६ आश्विन २०७४, बिहीबार ०९:४३

सरकारबाट नियुक्ती पाइसकेकाहरुलाई काँग्रेसबाट उम्मेदवार नबनाउन माग

पार्टीकै सिफारिसमा सरकारको महत्वपूर्ण निकायमा नियुक्ती लिएर हाल टिकटका लागि दौडधुप गरिरहेका व्यक्तिहरुलाई टिकट वितरण गरिए भण्डाफोर गर्ने केही युवा नेताहले चेतावनी दिएका छन् ।

पार्टी भित्रका केही अवसरवादीहरु, शीर्ष नेताहरुसँग निकट भएकाहरु र पद लोलुप्तामा लिप्त ब्यक्तिहरुका कारण नयाँ पुस्ताले अवसर नपाएको भन्दै युवा नेताहरुले पार्टी नेतृत्वलाई सचेत गराएका हुन् ।

कांग्रेसका युवा नेता लाओस राईले राज्यका विभिन्न निकायको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरुलाई चाकडीका भरमा टिकट वितरण गरिए आफूहरुले सहेर नबस्ने चेतावनी दिए ।

‘पार्टीभित्र दुःख गरेका र सक्षम नयाँ पुस्तालाई वेवास्ता गरिए त्यो दासता र अन्याय बाहेक केही होइन, यसप्रति पार्टी नेतृत्व सचेत रहनुपर्छ,’ नेता राईले भने ।

टिकट वितरणका बारेमा सचेत गराउन काँग्रेसका केही नेताहरुले चाँडै बृहत भेला राखेर दबाब सिर्जना गर्ने बताएका छन् ।

उम्मेदवार निश्चित मापदण्ड बनाएर नयाँ पुस्तालाई अघि सार्न माग गर्दै ती नेताहरुले पार्टी नेतृत्वलाई सुझाव दिने बताए ।

पार्टीकै सिफारिसमा सरकारको महत्वपूर्ण पदको जिम्मेवारी सम्हाल्ने अवसर पाएका दर्जनौं ब्यक्तिहरु यतिबेला चुनावी दौडमा देखिएका छन् । कतिपय जिल्लाबाट उनीहरुको नाम सिफारिस भइसकेको छ ।

त्यस्तै पार्टीमा पटक पटक अवसर पाएका, विभिन्न निर्बाचनमा पटक–पटक पराजित भएका साथै संगठनप्रति अन्तरर्घात गरेकाहरुलाई पनि उम्मेदवार नबनाउन उनीहरुको माग छ ।

आगामी निर्बाचनका लागि यतिबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिस भएका छन् ।

त्यस्तै भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यय पनि कपिलबस्तुबाट चुनाव लड्ने तयारीमा छन् ।

सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष भइसकेका पत्रकार पोषण केसी बाँकेबाट सिफारिस भएका छन् । राष्ट्रिय योजना आयोगका केही सदस्यहरुको नाम पनि सिफारिस भएको छ ।

कांग्रेसले आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छान्न १७ सदस्यीय केन्द्रीय संसदीय समिति हालै मात्र गठन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बुधबार संसदीय समिति गठन गरेका हुन् ।

कांग्रेसको विधानअनुसार संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने काम गर्नेछ । 

 

प्रतिक्रिया दिनुहोस्