
२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनपछि २०७२ असोजसम्म संविधानसभाकोरुपमा र त्यसपछि संसदकोरुपमा रहेको विधायिका शनिबारदेखि औपचारिकरुपमा सकिन लागेको हो ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउने अघिल्लो दिन संसदको म्याद पूरा भएको घोषणा गरिने भएको हो ।
व्यवस्थापनकार्यका लागि भने संसदले शुक्रबार (आज) अन्तिम काम गरेको छ ।
शनिबार संसद बैठक ३ बजे बस्ने भएपनि शनिबारको बैठकमा संसदमा रहेका सबै दलका शीर्ष नेताहरुलेमात्र सम्बोधन गर्ने र सभामुखको सम्बोधनपछि कार्यक्रम सकिनेछ ।
संसद बैठक बस्नुअघि दिउँसो २ बजे संसदमा फोटोसेसन राखिएको छ भने बेलुका डिनर कार्यक्रम छ ।
व्यवस्थापनकार्यका लागि शुक्रबार बसेको संसदको अन्तिम बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक र भाषा आयोगसम्बन्धी विधेयक पारित गरेको छ ।
शुक्रबारकै बैठकमा २०७० सालमा भएको संविधानसभा निर्वाचनमा धाँधली भएकोबारे छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन बुझाएको छ ।
बैठकबाट चिकित्सा शिक्षासम्बन्धी विधेयक पास गर्ने तयारी गरे पनि नेकपा एमाले र माओवादी केन्द्र सहमत नबनेपछि त्यो सम्भव भएन ।
राष्ट्रियसभा गठनसम्बन्धी विधेयक पनि संसदमा पेस हुन सकेन ।
चिकित्सा शिक्षा विधेयककाबारेमा सहमति जुटाउन सभामुख ओनसरी घतीको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठक बसे पनि सहमति जुट्न नसकेको हो ।
प्रतिक्रिया दिनुहोस्