
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पूर्वराज्यमन्त्री एवं राजपा नेपालका केन्द्रीय सदस्य खोवारी रायसहितका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै नेता दाहालले नेकपा एमालेसहित वाम एकताको प्रयास राष्ट्रिय एकता, स्वाधीनता र जनताको अधिकारका पक्षमा रहेको बताए ।
उनले भने–‘हामी हिमाल, पहाड र तराई–मधेसमा बस्ने सबै जनताको पहिचान र अधिकारका पक्षमा रहेका छौं । संविधानलाई संशोधन र परिमार्जन गर्दै सबैका अधिकार समेट्न पनि एमालेसँग हाम्रो सहमति छ ।’
कार्यक्रममा पूर्वसांसद रासनारायण राय, पूर्वगाविस अध्यक्ष एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजदेवी सहनी, पूर्वगाविस अध्यक्ष तथा राजपाका केन्द्रीय सदस्य किशोरीप्रसाद यादवलगायत १२ नेता माओवादी केन्द्रमा प्रवेश गरे ।
शुक्रबार नै नेपाली जनप्रगतिशील मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को महत्वपूर्ण भूमिका हुने बताए ।
मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको र संविधानको कार्यान्वयनसँगै नेपालको आर्थिक, सामाजिक विकासमा एनआरएनएले सहयोग गर्नुपर्ने उनको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्