संसदको अन्तिम बैठक बस्दै • Image Khabar Image Khabar


संसदको अन्तिम बैठक बस्दै


Imagekhabar
२८ आश्विन २०७४, शनिबार १४:१०

संसदको अन्तिम बैठक बस्दै

संसदको अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले बिदाइ सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले राससलाई जानकारी दिए ।

समापन समारोहका लागि शनिबारै सभामुख घर्तीले संसद परिसरमा रात्रिभोजको आयोजना गरेकी छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार (भोलि) समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन शनिबार (आज) राति १२ बजेदेखि नै संसदको अवधि सकिन लागेको हो ।

वि.सं. २०७० माघ ८ गतेदेखि सुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसदमा रुपान्तरित भएको हो ।

संसदले यस अवधिमा महत्वपूर्ण विधेयक पारित गर्नुका साथै महाअभियोगजस्ता नयाँ अनुभवसमेत गर्नुपर्‍यो ।

संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपनि त्यस सम्बन्धमा छलफल प्रक्रिया अघि बढ्न सकेन ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा बढी ध्यानकेन्द्रित गर्नुपरेको संसदले अन्तिम समयमा दलहरुबीच सहमति नभएपछि ‘राष्ट्रियसभासम्बन्धी विधेयक’जस्तो महत्वपूर्ण विधेयक र जनचासोको महत्वपूर्ण विधेयक ‘चिकित्सा शिक्षा विधेयक’ भने पारित गर्न सकेन ।

संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत् धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ ।

सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद कायम रहने प्रावधान उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्