
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले माओवादीको नेतृत्वमा नै संविधान निर्माण भएको र त्यसले मुलुकलाई एउटा राजनीतिक युगमा लगेको बताए ।
अध्यक्ष दाहालले भने–‘माओवादीले नेतृत्व नगरेको भए संविधान पनि बन्ने थिएन, समावेशी, समानुपातिक प्रतिनिधित्व पनि सुनिश्चित हुने थिएन, यसकारण तेस्रो शक्तिकारुपमा भएपनि आफ्नो पार्टी सफल भएको छ, यही सफलताको आलोकमा आगामी प्रतिनिधिसभा र संघीय संसदको निर्वाचन सफल बनाउनमा लाग्नु जरुरी छ ।’
संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि प्रतिनिधिसभा र संघीय संसदको निर्वाचन जरुरी र अत्यावश्यक रहेकाले सोही दिशामा मुलुक गएको उल्लेख गर्दै उनले आगामी मंसिर १० र २१ गते सो निर्वाचन सम्पन्न भएरै छाड्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले मुलुकको आवश्यकता र चाहनाले नै कम्युनिस्ट पार्टीकाबीचमा एकता र सहकार्यको प्रक्रिया अगाडि बढेको भन्दै नेतृत्वले लिएको जोखिमलाई कार्यकर्ता र जनस्तरमा लगेर निर्वाचनको माहोल बनाउन सबैमा आग्रह गरे ।
संविधान लेखनजस्तो महत्वपूर्ण कार्यभार पूरा गरेकोमा सबै सांसदलाई बधाइ र धन्यवाद दिँदै उनले आगामी दिनमा पनि देश र जनताको सेवाका लागि तयार भएर रहनसमेत सांसदहरुलाई अनुरोध गरे ।
माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका अध्यक्ष दाहालले समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत परिवर्तनको एजेन्डा स्थापित गर्न महत्वपूर्ण काम गरेको सांसदलाई इतिहासले मूल्यांकन गर्नेसमेत उल्लेख गरे ।
बैठकपछि माओवादी केन्द्रका सांसदको संयुक्त तस्वीरसमेत खिचिएको र सफल कार्यकालका लागि बधाइ आदान–प्रदानसमेत गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्