Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


उखु किसान र मिल संचालकबीच फेरि विवाद बढ्यो


0
Shares

विराटनगर । सरकारले उखुको मूल्य तोके पनि किसान र मिल सञ्चालकबीचको विवाद फेरि सतहमा आएको छ ।

किसानको गुनासो सम्बोधन गर्न सरकारले तोकेको मूल्यप्रति चिनी उद्योगी असन्तुष्ट देखिएपछि विवाद कायमै रहेको हो ।

उद्योगी र किसानका आ–आफ्नै अडानले उखु क्रसिङमा समस्या देखिएको छ ।

गत बिहीबार सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३० रुपैयाँ तोकेको छ । तर त्यसप्रति उद्योगी व्यवसायी भने असन्तुष्ट बनेका छन् ।

सरकारले मूल्य तोकेपछि उखु किसानको आन्दोलन र गुनासो मत्थर हुने अपेक्षा गरिएको थियो ।

तर सरकारले तोकेको मूल्य असन्तुलित र अत्याधिक भएको भन्दै चिनी उद्योगी असहमत भएपछि विवाद ज्यूँकात्यूँ छ ।

उद्योगीले प्रतिक्विन्टल ३ सय ८५ रुपैयाँ मात्र दिन सक्ने भएपछि उद्योगी र किसानबीच उखुको मूल्यको बिषयमा विवाद वढेको हो ।

किसानहरु भने सरकारले तोकेको मूल्यमा मात्र उखु बिक्री गर्ने अडान राख्दै आएका छन् ।

मोरङ र सुनसरीका २ हजार ४ सय कृषकले सुनसरीको बर्जु गाउपालिकामा रहेको स्टर्न सुँगर मिलमा उखु बिक्री गदै आएका छन ।

तर यो बर्ष मिल घाटामा गएको भन्दै उद्यागीले सरकारले निर्धारण गरेको मूल्यमा किसानको उखु किन्न नसकिने बताएका छन् ।

मोरङ र सुनसरीमा गत वर्ष प्रतिक्विन्टल ४ सय ३६ रुपैयाँका दरले किसानले उखु बिक्री गरेका थिए ।

तर यो बर्ष भने उद्योगीले किसानलाई प्रतिक्विन्टल ३ सय ८५ रुपैयामा बिक्री गर्न दबाब दिइरहेका छन् ।

मिल सञ्चालकले गत वर्षभन्दा कम मूल्यमा उखु खरिद गर्न चाहेका छन् भने किसानले भने सरकारले तोकेकै मूल्यमा  बिक्री गर्ने अडान राखेका कारण विवाद कायमै छ ।