Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


अत्याधुनिक प्रविधियुक्त कंक्रिट ब्लक उद्योग स्थापना


0
Shares

भैरहवा, पुस २२ । पछिल्लो समय औद्योगिक कोरिडोरको रुपमा स्थापित भैरहवा–परासी–भुमही सडकखण्डको हकुईमा दुई सय करोड लगानीमा कंक्रिट ब्लक उद्योग स्थापना गरिएको छ ।

भैरहवा–परासी औद्योगिक कोरिडोर अन्तर्गत नवलपरासीको रामग्राम नगरपालिका–१६, हकुईमा नेपालकै ठुलो अत्याधुनिक प्रविधि जडित एसियन कंक्रिट ब्लक उद्योग खुलेको हो । २०७४ सालमा उद्योग स्थापना भए पनि २०७५ साउनदेखि उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको हो ।

रोबटको प्रयोग गरिएको उक्त उद्योग जर्मनीको मासा कम्पनीको प्लान्ट हो । 

पहिलो चरणमा उद्योगमा २ सय करोड लगानी गरिएको छ । दोस्रो चरणमा पनि त्यति नै लगानी गरिने उद्योगले जनाएको छ । दैनिक ५ सय टन उत्पादन क्षमता रहेको उद्योगले पेभर, ब्लक, स्लाव, कर्व स्टोन, इँट्टा र टायल उत्पादन गर्ने गरेको उद्योगका अध्यक्ष मनिष रुङगटाले जानकारी दिए ।

यी उत्पादन सडक, आँगन, पुल, वेयर हाउस, मिल, सपिङ मल, व्यापारिक भवनहरु, होटल रिसोर्ट तथा पार्किङस्थल बनाउन प्रयोग गर्न सकिने जनाइएको छ ।

जर्मनीको मासा कम्पनी विश्वमा ब्लक उत्पादन गर्ने उपकरण बनाउनेमध्ये सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनी मानिन्छ । उद्योगका लागि आवश्यक ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ स्वदेशमै उपलब्ध हुने सञ्चालक राजेश अग्रवालले जानकारी दिए । उद्योगमा लाग्ने सम्पूर्ण कच्चा पदार्थहरुको आधुनिक ल्यावमा जाँच हुनेहुँदा गुणस्तरमा कुनै सम्झौता नहुने उनको दाबी छ ।

उद्योगबाट उत्पादित वस्तुहरु प्रयोग गरेर निर्माण गरिने संरचनाहरु अन्यबाट बनाइएको भन्दा दिगो, धेरै टिकाउ, कम खर्चमा मेन्टिनेन्स गर्न सकिने हुने उद्योगका सञ्चालक अनिल जाँटीया बताउँछन् ।

हाल उद्योगले उत्पादन क्षमताका आधारमा २५ प्रतिशत मात्रै उत्पादन गर्दै आएको छ । फूल फेजमा उद्योग चल्दा ५ सय बढीले रोजगारी पाउने जनाइएको छ ।