१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


२०४१ सालमै धूमपानरहित मन्त्रालयकारुपमा प्रशंसा पाएका थियौं : मन्त्री बोहरा


0
Shares

बुधबार मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भइ स्वास्थ्यमा जनताको हित हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले भने–‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुँदैन, देशलाई अगाडि बढाउने प्रमुख जिम्मेवारी तपाइँ स्थायी कर्मचारीकै काँधमा छ, त्यसैले राम्रा योजना ल्याउनोस्, पूर्वमन्त्रीका राम्रा कामलाई निरन्तरता दिनोस्, बिनातनाव ढुक्कसँग काम गर्नुहोस् ।’

मन्त्रालयमा उपस्थित कर्मचारीलाई निर्देशन दिनेक्रममा स्वास्थ्यमन्त्री बोहराले आफू २०४१ सालमा यातायातमन्त्री हुँदा मन्त्रालयलाई धूमपानरहित मन्त्रालय बनाएको प्रसंग झिक्दै धेरै कर्मचारी त्यसको विपक्षमा भएपछि छुट्टै कोठा बनाइ त्यहाँमात्र धूमपान गर्न सकिने व्यवस्था गरेको स्मरण गरे ।

‘स्वास्थ्य मन्त्रालयमासमेत यस्तो सोच थिएन, यस्तो निर्णयपछि दक्षिण एसियामै हामीले पहिलो धूमपानरहित मन्त्रालयकारुपमा प्रशंसा पाएका थियौं, स्वास्थ्यमा पनि सबैको हित हुने केही नयाँ काम गरौं’–उनले भने ।

महँगो स्वास्थ्य सेवाका कारण जनताले आफ्नो आम्दानीले गुणस्तरीय सेवा नपाइरहेको भन्दै उनले सरकारले सुलभ स्वास्थ्य सेवाको वातावरण बनाउनुपर्ने बताए ।

मन्त्री बोहराले पदभार ग्रहण गर्दै सहरी स्वास्थ्य नीतिसम्बन्धी संशोधन फाइल र भूकम्पले क्षति गरेका २५२ स्वास्थ्य संस्था निर्माणसम्बन्धी फाइल सदर गरे ।

स्वास्थ्यसचिव डा. किरण रेग्मीले विगत दुई दशकमा स्वास्थ्य क्षेत्रले राम्रो प्रगति गरेको भएपनि नसर्ने रोग, मातृ मृत्युदरलगायतका विषयमा अझै काम गर्नुपर्ने बताइन् ।

संघीयतामा कर्मचारी समायोजन ठूलो चुनौती भएको भन्दै सचिव रेग्मीले स्वास्थ्यमा पर्याप्त बजेट नबढाइ अपेक्षाकृत उपलब्धि हासिल नहुने बताए ।

स्वास्थ्यमा हाल कुल बजेटको ३ दशमलव ७ प्रतिशतमात्र बजेट विनियोजन भएकाले त्यसलाई कम्तीमा १० प्रतिशत पुर्‍याउन आवश्यक भएको उनको भनाइ छ । रासस