कपिलवस्तु नाका हुँदै अवैधरुपमा भारतबाट ठूलो मात्रामा पटाका भित्रिँदै • Image Khabar Image Khabar


कपिलवस्तु नाका हुँदै अवैधरुपमा भारतबाट ठूलो मात्रामा पटाका भित्रिँदै


Imagekhabar
२ कार्तिक २०७४, बिहीबार १०:१५

कपिलवस्तु नाका हुँदै अवैधरुपमा भारतबाट ठूलो मात्रामा पटाका भित्रिँदै

नेपालमा पटाका पड्काउन निषेध गरिएपनि व्यापारीहरुले चोरबाटो हुँदै ठूलो मात्रामा पटाका भित्र्याउँदा पनि प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाउन सकेको छैन ।

प्रहरी प्रशासनले विशेष सुरक्षा योजना लागू गरेता पनि सीमानाकाको चोरबाटो हुँदै व्यापारीहरुले विस्फोटकजन्य पदार्थ जिल्ला भित्र्याइरहेका छन् ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष चेकजाँच गरेतापनि खुला सिमानाको फाइदा उठाउँदै यतिबेला व्यापारीहरुले ठूलो परिमाणमा पटकाजन्य वस्तु नेपाल भित्र्याइरहेका हुन् ।

विशेषगरी कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना र कृष्णनगर क्षेत्रबाट पटकाहरु धमाधम नेपाल भित्रिरहेका छन् ।

नेपाल प्रहरीले आइतबारयता तीन लाख रुपैयाँभन्दा बढी मूल्यका विस्फोटकजन्य पदार्थ बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारी बताउँछन् ।

विगतका वर्षहरुमाजस्तै यस वर्ष पनि पटकाजन्य पदार्थ ओसार–पसार, खरिद–बिक्री र प्रयोगमा पूर्णप्रतिबन्धसहित अनुगमन हुने गरिएको प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्र तथा किनारका छोटी नाकाहरुमासमेत कडाइ र गस्ती गर्न निर्देशन दिएको र तत्काल बजार अनुगमन गरी पटका बिक्री, प्रयोग गर्ने जो–कोहीलाई पनि कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मदन भुजेल बताउँछन् ।

तर, नेपाल भित्र्ने पटकामा कुनै कमी आउन सकेको छैन ।

उता, आउँदो मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिरहेको बेला पटकाजन्य विस्फोटक पदार्थ खुलेयाम नेपाल भित्रिँदा सुरक्षाकर्मीहरुलाई चुनौती थपिएको छ ।

निर्वाचनविरोधी समूह यतिखेर निर्वाचन भाँड्ने योजनामा रहेको सुरक्षाकर्मीहरुको दाबी छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्