१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


नुवाकोटमा दुुई लाख ८ हजार मतदाता


0
Shares

वैशाख ३१ को स्थानीय तहको निर्वाचनमा एक लाख ८५ हजार ७८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावका लागि दुुई लाख ८ हजार १९१ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीय तहको निर्वाचनपश्चात् चार महिनामा जिल्ला प्रशासन, निर्वाचन कार्यालय र स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्म सन्चालन भएको घुम्तीसेवा शिविरबाट २२ हजार ४०९ जना मतदाता थप भएको निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए ।

जिल्लामा मतदाता वृद्धि भएसँगै मतदान केन्द्रसमेत बढेको छ । स्थानीय तहको निर्वाचनमा १२९ मतदानस्थलमा २४० मतदान केन्द्र निर्धारण भएकोमा अहिले मतदानस्थल साविक राखेर केन्द्र भने २० ओटा थप गरी २६० पुर्‍याइएको अधिकारीले जानकारी दिए ।

एक मतदान केन्द्रमा एक हजार मतदातामात्र समावेश गर्ने भएकाले २२ हजार मतदाता थपिएपछि २० मतदान केन्द्र वृद्धि गर्न निर्वाचन आयोगमार्फत् स्वीकृति लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

नुवाकोटमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर–१ मा एक लाख पाँच हजार २८७ जना र क्षेत्र नम्बर–२ मा एक लाख दुई हजार ९०४ जना मतदाता भोट दिन योग्य देखिएका छन् ।

यस्तै, प्रतिनिधिसभाको क्षेत्र नम्बर–१ को प्रदेशसभा क्षेत्र नम्बर–१ मा मतदाता संख्या ५२ हजार एकजना, क्षेत्र नम्बर–२ मा ५३ हजार २८६ जना मतदाता मत दिन योग्य भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेशसभा सदस्य क्षेत्र नम्बर–१ मा मतदाता ५१ हजार ६४९ जना र क्षेत्र नम्बर–२ मा ५१ हजार २५५ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

आसन्न निर्वाचनका लागि अहिले एक हजार २७४ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि जिल्लामा रहेको नेपाली सेनासमेत तैनाथ हुने र नेपाल प्रहरीको अहिले कायम रहेकोभन्दा दोब्बर बढी प्रहरी थप हुने नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए ।

कात्तिक ५ गते प्रत्यक्षतर्फको उम्मेदवारको उम्मेदवारी दर्ता भएसँगै निर्वाचन सुरक्षा मजबुत् बनाउन सुरक्षा अवस्था हेरेर सशस्त्र प्रहरीसमेत जिल्ला ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।

एक मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत् बनाउन यसअघि ११ देखि ३३ जनासम्म सुरक्षाकर्मी राखिएकोमा आसन्न निर्वाचनमा कम्तीमा २० जना सुरक्षाकर्मी परिचालन गर्नेगरी सुरक्षाकर्मीको संख्या वृद्धि गर्न नुवाकोट प्रशासनले गृह मन्त्रालयसँग थप जनशक्ति माग गरेको छ । रासस