Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


पुजनको संघर्षः गाउँमै बसेर ६ वटा एल्बम, डेढसय बढी गीत


0
Shares

काठमाडौं । पुजन प्रधान गीत लेख्छन, संगीत भर्छन अनि आफ्नै स्वरमा गीत रेकर्ड गर्छन् ।

कहिले काठमाडौं, कहिले धरान, कहिले दार्जिलिङको म्यूजिक स्टुडियोमा पुगेर गीतलाई रेकर्ड गराउछन । अनि आधुनिक सांगीतिक गीति एल्बम लिएर बजारमा आइपुग्छन् ।

पुजन काठमाडौं, धरान वा दार्जिलिङ बस्दैनन् । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कलमा बस्छन् ।

संगीत क्षेत्रलाई आफ्नो प्राण सम्झेर गीत गुनगुनाइरहन्छन् । माया-प्रेम, जीवन-भोगाइ, राष्ट्रिय भावना, मौलिकतालाई शब्दमा उतार्छन र गीत तयार पार्छन् । यसरी संगीत संघर्षमा उनको बर्षौं वितिसकेको छ ।

गीत लेखन, संगीत तथा गायन तीनवटै विधामा पोख्त पुजनले हालसम्म ‘माइबेनी’, ‘कोशिस’, ‘परिकल्पना’, ‘रिप्लाई’, ‘चिनो’ र भर्खरै मात्र ‘जुनेली’ छैटौं एल्बम बजारमा ल्याएका छन् ।

हालैमात्र बजारमा आएको जुनेलीमा आठवटा गीत समावेश छन् । ‘डाँडा पाखा छहराले’, ‘छड्के आँखाले नहेर’, ‘भैगो अब तिमी मेरो’, ‘मायालु तिमीलाई’, ‘यो जुनीमा सायद’, ‘ओरालो बग्ने खोलानाला’, ‘जति सामू पर्न खोज्छु’ ‘देशको माया राखौं’ बोलका गीतहरु समावेश छन् । डिआर म्यूजिक सेन्टरले प्रस्तुती रहेको एल्बममा विष्णु अधिकारीले एरेन्जमा सहयोग गरेका छन् ।

मोफसल रहेर संगीतमा रमाएका पुजनले डेढ सयवटा गीत लेखेर आफैं संगीत भरेका छन । त्यसका अलावा उनले ८० वटा भन्दा धेरै गीत गाएका छन् ।

संगीतका बारेमा पुजन भन्छन्, ‘संगीत एउटा मानवीय जीवनको गौण विषय हो, जसले मान्छेलाई असल बन्न प्रेरित गरिरहन्छ ।’

‘टाडा भए के भो मायालु’, ‘पर्खिबस मायालु’, ‘बादल आइ छेकी दियो’ ‘नेपाललाई माया गर्ने’, ‘बाँची रहुँ नेपाली हो’ जस्ता चर्चित गीत लेखेका पुजन संगीतमा दत्तचित्त भएर निरन्तर लाग्न सकियो भने सफलता पाउन सकिने बताउँछन् ।

आधुनिक तथा लोक आधुनिक गीतहरु लेख्न र गाउन रुचाउने उनी मौलिक संगीतलाई जोगाइराख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छन् ।

 

 

Skip This