१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


१९ औं ईमेज अवार्डका केही खास पक्ष जो आज पनि छन् चर्चामा


13
Shares

नेपाली गीत–संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाएको ईमेज अवार्ड हालै वितरण गरिएको छ । भव्य कार्यक्रमका बीच विभिन्न २३ विधामा उत्कृष्टलाई अवार्ड वितरण गर्दै ईमेज अवार्डको १९ औं संस्करण असोज २७ गते सम्पन्न भयो ।

अवार्ड वितरण कार्यक्रम सम्पन्न भए पनि कार्यक्रममा देखिएको रौनक र प्रतिक्रियाहरु अझै सेलाएको छैन । कला क्षेत्रमा कलम चलाउँदै आएका संचारकर्मीहरुले अझै ईमेज अवार्डलाई आधार बनाएर समाचार टिप्पणी गरिरहेकै छन् । कलाकारहरुमा पनि उक्त कार्यक्रमबाट परेको छाप मेटिएको छैन ।

लोकप्रिय नायक राजेश हमालले १९ औं ईमेज अवार्ड कार्यक्रम संचालनमात्र होइन, आकर्षक नृत्य प्रस्तुतिसमेत गरे । स्टेज कार्यक्रममा खासै देखा नपर्ने नायक हमालले ईमेज अवार्ड वितरण कार्यक्रममा निर्वाह गरेको यो भूमिकाले नै अवार्डको महत्वलाई प्रष्ट पारेको छ ।

नयाँ पुस्ताका गायक–गायिकादेखि लिएर पुरानो पुस्ताका गायक प्रेमध्वज प्रधान, दीप श्रेष्ठका गीत पनि अवार्डको विधागत मनोनयनमा परेका थिए । जसले गर्दा अवार्डले कुनै खास एउटा पुस्तालाई मात्र नभई युवादेखि पुराना पुस्तासमेतको उत्तिकै चासो देखिन्थ्यो ।

गीतसंगीतका युवापुस्तादेखि पाका कलाकारसम्मको जमघट भएको अवार्ड वितरण समारोहलाई कलाकार तथा संगीतकर्मीहरुको बाक्लो उपस्थितिले रौनक बढाएको थियो । धेरैजसोले अवार्ड वितरण कार्यक्रमलाई भलाकुसरी गर्ने माध्यम पनि बनाएका देखिन्थे । लामो समयपछि सबैजसो कलाकार एकै ठाउँमा भेला भएर आफ्ना अनुभव साट्ने, हालखबर सोध्ने, सँगै बसेर खाने अवसर जुरेको थियो ।

नायिका तथा राजनीतिज्ञ करिश्मा मानन्धरले १९ औं ईमेज अवार्ड वितरण कार्यक्रमबाट आफू निकै प्रभावित भएको बताइन् । उनले ईमेज च्यानलसँग विशेष कुराकानी गर्दै अवार्ड वितरण कार्यक्रमले सबै स्रष्टालाई समेटेकोमा खुशी प्रकट गरिन् ।

कार्यक्रममा नेपाली चलचित्र उद्योगकी प्रथम नायिका भुवन चन्दले लामो समयपछि पहिलो स्टेज प्रोग्राम गरिन् । उनको प्रस्तुति नयाँ पुस्ताका कलाकारहरुले निकै चाख मानेर हेरेका थिए ।

चर्चित हाँस्य कलाकार जितु नेपालको हाँस्य प्रस्तुतिले उपस्थित दर्शक तथा अतिथिहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । उनले राजनीतिदेखि सांगितिक क्षेत्रलाई समेत समेटेर आफ्नो कला प्रस्तुति गरेका थिए ।

पप गायक दीपक बज्राचार्यले पनि धेरैपछि स्टेजमा आफूलाई उभ्याए । उनले आफ्ना कर्णप्रिय गीत गाएका थिए ।

वरिष्ठ संगीतकर्मी दीपक जंगमलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड वितरण गरिएको थियो । उनले अवार्डमार्फत आफू सम्मानित भएकोमा गर्व प्रकट गर्दै यसले आफूलाई जीवन रहेसम्म साधनामा लागिरहन प्रेरणा मिलेको बताए ।