१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाई बहुमत, अब संविधान संशोधन गरिने


0
Shares

जापानको संसदको म्याद करिब बर्षदिन बाँकी रहदै आइतबारका लागि आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएको थियो ।

जापानी सरकारी टेलिभिजन एनएचकेले दिएको पछिल्लो विवरणअनुसार प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले मात्र २८३ स्थामा जित हासिल गरेको छ । जापानको प्रतिनिधि सभा ४६५ सदस्यीय छ ।

त्यसैगरी उनको सत्ता गठबन्धनमा रहेको अर्को दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ । यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३१२ स्थानमा विजय हासिल गरेको छ । यो यहाँको संसदको दुई तिहाई बहुमत हो ।

जापानी र अरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री आबेको दल र उनको गठबन्धनले दुई तिहाई बहुमत हासिल गरेको जनाएका छन् ।

टोकियोबाट प्राप्त समाचारहरुमा दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारहरुको इतिहासमा नै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेताका रुपमा स्थापित भएको विश्लेषणहरु गरिएको छ ।

जापानी राष्ट्रिय प्रशारण संस्था एनएचकेले दिएको जानकारीअनुसार अझै पनि संसदका १० वटा स्थानको मत परिणाम आउन बाँकी छ । मत गणना अझै जारी नै रहेको बताइएको छ ।

तर अहिलेसम्म प्राप्त परिणाममा सत्ताधारी दलको गठबन्धनले स्पष्ट रुपमा नै दुई तिहाई बहुमत हासिल गरिसकेको बताइएको छ ।

यसअघि संसदको तल्लो सभाको ४६५ स्थानमध्ये उनको दल र गठबन्धनले गरी २९० स्थान हासिल गरेको थियो । सत्ताधारी साझेदार अर्को दलको समेत गरी संसदमा ६५ प्रतिशत स्थानमा रहेको थियो ।

प्रधानमन्त्री आबेले वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा समयानुकुल नीति निर्माण गर्ने योजनाका साथ यो निर्वाचनको आह्वान गरेको बताइएको थियो ।

उनले अघि बढाएको नयाँ आर्थिक मोडेल ‘आबेनोमिक्स’ लाई अझै दह्रोगरी अघि बढाउने उनको योजनालाई यो दुई तिहाई बहुमतले अब सहज बनाउने बताइन्छ ।

यो निर्वाचनमा प्रधानमन्त्री आबे र उनको सत्ताधारी गठबन्धनले हालै गठन भएका दुई वटा नयाँ पार्टीसँग प्रतिश्पर्धा गरेका थिए । ती दलले वर्तमान सत्ताधारी दललाई बहुमत ल्याउन पनि नदिने बताएका थिए ।

पछिल्ला केही समययता उत्तर कोरियाले जारी राखेको आणविक हतियारको प्रदर्शनका विरुद्धमा आवश्यक नीति अख्तियार गर्न, समयानुकुल जापानको सुरक्षा नीति निर्माण गर्न आफूलाई संसदमा दुई तिहाई बहुमत आवश्यक परेको प्रधानमन्त्री आबेले बताउँदै आएका थिए ।

त्यसैले अब उनले बहुमत हासिल गरेपछि जापानमा के कस्तो नीतिगत र आर्थिक परिवर्तन गर्न सक्नेछन् त भन्ने बारेमा विभिन्न समाचार विश्लेषणहरु आइरहेका छन् ।

निर्वाचन परिणाम प्राप्त भएपछिको प्रतिक्रियामा प्रधानमन्त्री आबेले भनेका छन्, ‘मैले यो जितलाई विनम्रतापूर्वक स्वागत र स्वीकार गर्न चाहन्छु ।’ उनले सबैलाई आवश्यक सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरे ।

परिणामहरु प्राप्त गर्दैगर्दा प्रधानमन्त्री आबेले गरेको टेलिभिजन सम्बोधनमा उनले आफूले चाहेकै रुपमा जनमत प्राप्त भएको भन्दै यसबाट संविधान संशोधनको जापानी जनताको चाहनालाई आफूले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
साथै उनले संविधान संशोधनका लागि सबै राजनीतिक दल र आवश्यक सबै क्षेत्रबाट सहयोगको अपेक्षा आफूले गरेको पनि बताए । (रासस/सिन्ह्वा)