१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


घरमा लगाइने रङमा प्रयोग हुने ‘लेड’बाट बालबालिकामा क्यान्सर


0
Shares

विशेषगरी भित्ता तथा टेबुलमा प्रयोग हुने विभिन्न रंगीचंगी रङमा लेड (सिसा)को मात्रा प्रयोग गरिएको हुन्छ ।

घर तथा विद्यालयको कक्षाकोठामा प्रयोग हुने ती सिसाका कण हावाका माध्यमबाट स–साना बालबालिकाको शरीरभित्र सजिलै प्रवेश पाउँछ र दीर्घकालमा क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् ।

लेडको सम्पर्कबाट वर्षेनी आठलाख मानिसको मृत्यु हुने गरेको छ भने मध्यम आय भएका मुलुकमा हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले विश्वव्यापीरुपमा मानिसमा बौद्धिक अशक्तता ९.५ प्रतिशत तथा ४ प्रतिशत मुटुसम्बन्धी रोग हुने जानकारी दिए ।

उनले थपे, ‘नेपालमा वर्षेनी पाँचवर्ष मुनिका बालबालिकामा हुने लेड असरबाट रु एक खर्ब ५६ अर्ब बराबरको क्षति हुन्छ । त्यसैले लेडरहित कलरमात्र भित्तामा प्रयोग गर्नुपर्छ ।’

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र तथा लिडर्स नेपालले काठमाडौैं उपत्यकालगायत पश्चिम नेपालका केही बजारबाट संकलन गरिएका १८ पेन्ट्स उद्योगको ३७ ओटा रङको नमूनाको प्रयोगशाला परीक्षण गर्दा ५९.४६ प्रतिशत रङ सरकारले तोकेको ९० पिपिएम मापदन्डभित्र रहेको र बाँकी रंगमा अत्यधिक सिसा प्रयोगमा रहेको जनाएको छ ।

गौरीशंकर, जस्मिन, जेजिस, एपोलो, अर्ति, जी–७, अमेरिकन पेन्ट इन्डष्ट्री, पशुपति पेन्ट्स, एसियन पेन्ट्स तथा नेपाल पेन्ट्स इन्डष्ट्रीका रङमा तोकेको मापदन्डभन्दा धेरै गुणाबढी लेड पाइएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकाका ३१२ बालबालिकासहित वीरगन्जका विद्यालयका ५० छात्रछात्रामा गरिएको अध्ययनअनुसार ती बालबालिकाको रगतमा लेडको मात्रा ९० पिपिएमभन्दा बढी पाइएको सो केन्द्रले जनाएको छ ।

६० प्रतिशत बालबालिकाको रगतमा ९० पिपिएमभन्दा बढी लेड पाइएको थियो ।

ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रीलको मेसिनमा लामो समयदेखि प्रयोग गर्दै आएको तेलमा पनि अत्यधिकमात्रामा लेडको प्रयोग भएको पाइएको जानकारी दिए ।

बिपी कोइराला स्वास्थ्य अध्ययन प्रतिष्ठान तथा नेपाल स्वास्थ्य अध्ययन प्रतिष्ठानले हालसम्म चारपटक लेडसम्बन्धी देशव्यापी अध्ययन गरिसकेको जानकारी दिँदै कार्यकारी प्रमुख शाहले कात्तिक ५ देखि कात्तिक ११ सम्म ‘अन्तर्राष्ट्रिय लेड विष रोकथाम सप्ताह– २०१७’ मनाइएको जानकारी दिए । रासस