२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान


0
Shares

प्रेस चौतारी नेपाल भक्तपुरले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामामात्रै भएपनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यस्तो आह्वान गरेका हुन् ।

एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गरे ।

एमालेका युवा नेता बस्नेतले ‘एमालेसँग चुनावी तालमेल गर्न नेमकिपालाई एमालेले पटक–पटक आग्रह गरेको छ, अहिलेपनि हामी तालमेलमा आउन आह्वान गर्छौं’–भने ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफ्नो पहलमा रु पाँच अर्बको विकास बजेट भक्तपुरमा भित्र्याइएको जिकिर गर्दै उनले ती रकमले विकासका काम निरन्तर भइरहेको बताए ।

एमाले जिल्ला अध्यक्ष राजथलाले एमालेको आग्रह नेमकिपाका लागि अवसर भएको बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष कविता थापा, नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलीप थापामगर, पत्रकार महासंघ भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, प्रेस चौतारी केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज प्रकाश सिलवाललगायतले निर्वाचनमा पत्रकारले कसैको पनि प्रभावमा नपरी सत्य र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । रासस