९ असार २०८२, सोमबार | Tue Jun 24 2025


नुवाकोटमा ४६ उम्मेदवार अन्तिम चुनावी प्रतिस्पर्धामा, ११ जनाले लिए उम्मेदवारी फिर्ता


0
Shares

आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार भएपनि बुधबार ११ जनाले नाम फिर्ता लिएसँगै अन्तिम चुनावी प्रतस्पर्धामा ४६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताको समयमा बुधबार नुवाकोटको प्रतिनिधिसभा सदस्यको दुई निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको चार निर्वाचन क्षेत्रबाट ११ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा मालेका उम्मेदवार जयागार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नरेन्द्रप्रसाद फुयाँल र नयाँ शक्ति पार्टी नेपालका शन्तबहादुर तामाङ छन् ।

यस्तै, प्रदेशसभा क्षेत्र नम्बर–१ बाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दामोदर थापा क्षेत्री र प्रदेशसभा सदस्य क्षेत्र नम्बर–२ बाट राप्रपा प्रजातान्त्रिकका दीपककुमार राईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, नेपाल जनलोकतान्त्रिक पार्टीका नारायण पौडेल र राप्रपा प्रजातान्त्रिकका मधुसुदन रिसालले पनि उम्मेदवारी फिर्ता लिए ।

यस्तै, प्रदेश क्षेत्र नम्बर–१ बाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार शिवप्रसाद अधिकारी, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार हरिप्रसाद रिजाल र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिए ।

यसअघि मनोनयन दर्ता गरेर उम्मेदवारी फिर्ता लिएका सबैले लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।

यसैबीच, एकीकृत राप्रपा राष्ट्रवादीकातर्फबाट उम्मेदवारी दिएकी निवर्तमान सांसद राज्यलक्ष्मी पाण्डेले कांग्रेस उम्मेदवारको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिएको र पार्टी नै परित्याग गरी कांग्रेस प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत् घोषणा गरिन् । रासस