९ असार २०८२, सोमबार | Tue Jun 24 2025


रुकुममा बामगठबन्धनलाई काँग्रेसको टक्कर, गाउँगाउँमा राजनीतिक बहस


0
Shares

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले एकलौटी वर्चस्व कायम गरेको रुकुममा आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक गठबन्धनबीच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

मुलुक संघीय संरचनामा गएसँगै दुई वटा प्रदेशमा बाँडिएको रुकुममा आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।

निर्वाचनमा उम्मेदवारी दर्तासँगै दलहरुले प्रचारप्रसारलाई तीब्रता दिएका छन् । रुकुमका गाउँगाउँमा चुनावी र राजनीतिक बहसले प्राथमिकता पाएको छ ।

दलहरुले चुनावी परिणाम आफ्नो पक्षमा पार्न भेटघाट, लविङ, छलफल तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर चुनावी प्रचारलाई तिव्रता दिँदै आएका छन् । दलहरुको प्रचार प्रसारसँगै सर्वसाधारण पनि उत्साहित छन् ।

रुकुम पूर्व र रुकुम पश्चिममा नेपाली कांग्रेस र वाम गठबन्धनसँगै नयाँ शक्ति, संघीय समाजवादी, नेकपा (माले) र राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गराएका छन् ।

तर यहाँ वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा छ । वाम गठवन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा दुवै रुकुममा माओवादी केन्द्रले उम्मेदारी दिएको छ ।

पश्चिम रुकुममा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा क्षेत्र ‘क’ मा रातो कामी र ‘ख’ मा गोपाल शर्माको उम्मेदवारी परेको छ ।

कांग्रेसले भने प्रनिनिधिसभामा गोपालजीजंग शाह र प्रदेशसभा क्षेत्र ‘क’ मा कृष्णबहादुर रोकाय र ‘ख’ मा खड्क डाँगीको उम्मेदवारी दर्ता गराएको छ ।

यसैगरी रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका सदस्यका लागी पूर्वमन्त्री कमला रोक्का तथा प्रदेश सभा क्षेत्र नं ‘क’ मा तेजबहादुर ओली र ‘ख’ मा पूर्ण घर्तीको उम्मेदवारी दर्ता भएको छ ।

पूर्वी रुकुममा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा हरिशंकर घर्ती मगरले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा क्षेत्र ‘क’ मा दूतकुमार पुन र ‘ख’ मा दत्तबहादु बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वी रुकुममा २७ हजार ९ सय २८ मतदाता संख्या रहेको छ भने पश्चिमी रुकुममा ८४ हजार ३२ मतदाता संख्या रहेको छ ।

उम्मेदवारी दर्तासँगै दलहरुको प्रचार तिव्र पारेपछि जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

दुवै रुकुमका मुख्य निबार्चन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ ।