
बिहीबार भरतपुरमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले कार्यालयको स्थापना गरे ।
मुख्य निर्वाचन अधिकृत शर्माले समग्र जिल्लासँगै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ को नेतृत्व गर्नेछन् ।
यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचन अधिकृतमा परमेश्वर पराजुली र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ को निर्वाचन अधिकृतमा शम्भुराज रेग्मी रहेका छन् ।
निर्वाचन अधिकृतहरुले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रअन्तर्गत् पर्ने प्रदेशसभाकोसमेत निर्वाचनको नेतृत्व गर्ने जनाइएको छ ।
चितवनमा प्रतिनिधिसभा सदस्यतर्फ तीनओटा निर्वाचन क्षेत्र कायम गरिएको छ भने प्रदेशसभातर्फ ६ ओटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल ३ लाख ५४ हजार मतदाता रहेका छन् ।
सभ्य र भव्यरुपमा निर्वाचन सम्पन्न गराउँछौं : शर्मा
मुख्य निर्वाचन अधिकृत शर्माले चितवमा योपटक भव्य र सभ्यरुपमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाए ।
उनले निर्वाचन कार्यालय सूचनामैत्री बन्ने भन्दै पत्रकारहरुलाई सूचना दिनमा कुनै कन्जुसाइँ नगर्ने बताए ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी राख्दैनौं : प्रजिअ भट्ट
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चितवनको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
उनले विगतको निर्वाचनलाई ध्यानमा राखेर शान्ति–सुरक्षा कडा पारिने बताए ।
उनले केन्द्रीय सुरक्षा योजनाअन्तर्गत् रहेर जिल्लाको सुरक्षाको योजना बनाइएको बताए ।
चितवनमा दोस्रो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मंसिर २१ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्