
कञ्चनपुर, पुस २० । मुआब्जा वितरणको काम सुरु भएसँगै कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको कामले गति लिएको छ ।
चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक निर्माणका लागि मुआब्जा वितरणको काम सुरु भएसँगै पुल निर्माणको काम समयमै सकिने संकेत देखिएको हो । महाकाली पुलसँगै निर्माण हुने पहुँचमार्गअन्तर्गत पर्ने सडक विस्तारका लागि जग्गा र घरको ८३ प्रतिशत मुआब्जा वितरण भएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले जनाएको छ ।
आयोजनाका अनुसार सडक विस्तारका लागि आवश्यक पर्ने साढे १६ हेक्टरमध्ये १३ दशमलव ८ हेक्टर जग्गाको ४६ करोड ४४ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ । यस्तै घरको ६ करोड ९८ लाखमध्ये १ करोड ९९ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको छ ।
पहिलो वर्ष मुआब्जा वितरणमा ढिलाइ भएकाले आशा गरिएअनुरुप काम हुन नसके पनि पछिल्लो समय तिव्र गतिले काम अगाडी बढेको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका आयोजना प्रमुख प्रदिप भण्डारीले बताए ।
मुआब्जाका लागि निवेदन आउने क्रम जारी रहेको भन्दै उनले मुआब्जा वितरणसँगै पहुँचमार्गमा पर्ने पुल तथा अन्य कामलाई तिव्रता दिएकोे बताए । पुल निर्माणका लागि कुमार सिएसइसी जेभीसँग ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँमा सम्झौता भएको थियो । तीन वर्षभित्रै योजना निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्