३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क ‘एआरटी’ औषधि


0
Shares

रगत परीक्षण गरी ‘सिडीफोर’ भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क ‘एआरटी’ औषधि दिने व्यवस्था गरिएको हो ।

संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन गर्न पाउने भरतपुर अस्पतालमा रहेको ‘एड्स हेल्थकेयर फाउन्डेशन’ (एएफएच) नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक कृष्णहरि सापकोटाले बताए ।

सापकोटाका अनुसार संक्रमण भएको प्रमाणित भएलगत्तै र संक्रमणको जोखिममा परेकालाई औषधि दिइने छ । यसअघि रगतमा सिडिफोरको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्था थियो ।

भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरका प्रमुख डा.उन्नत श्रेष्ठका अनुसार एचआइभीको जोखिम रहेकालाई पनि औषधि दिने व्यवस्था सरकारले गरेको छ । श्रेष्ठले भने, ‘कोही व्यक्ति संक्रमित छैन तर उसले यौन सम्पर्क गर्ने साथी एचआइभी संक्रमित छ भने त्यस्तो व्यक्तिलाई औषधि दिन सकिन्छ ।’ त्यस्तो व्यक्तिले औषधि खाएमा संक्रमण हुने नसक्ने नभई खतरा कम हुने श्रेष्ठले बताए ।

संक्रमित नभएका तर समलिंगी यौन व्यवहार गर्ने, यौनकर्मी, बलात्कारमा परेकालाई यो औषधि दिन सकिने श्रेष्ठले बताए । त्यस्तै, संक्रमितको सम्पर्कमा आएर आफूलाई पनि संक्रमण भयो कि भन्ने आंशका गर्नेलाई पनि औषधि दिने नीति बनेको उनले बताए ।

बलात्कृत भएमा वा अन्य कारणबाट संक्रमित भएको शंका लागेमा ७२ घन्टाभित्र चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्ने उनले बताए । लगातार २८ दिन औषधि खाएपछि जोखिम कम हुने उनको भनाइ छ । उनले भने, ‘यसरी औषधि खाँदा संक्रमत हुँदै हुँदैन भन्ने होइन, संक्रमण हुने सम्भावना कम रहन्छ ।’

भरतपुर अस्पतालमा सन् २००७ देखि एआरटी सेन्टर सुरु भएको हो । त्यसयता गत सेप्टेम्बर ३० सम्म सो सेन्टरमा १४६९ जना एचआइभी संक्रमितले नाम दर्ता गराएका छन् । तीमध्ये ७४८ जनाले त्यहीँबाट नियमित औषधि खाइरहेको एएफएच नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक सापकोटाले जानकारी दिए ।

नेपालमा ३२ हजार ७३५जना एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । सन् २०१६ सम्म १८ हजार १३० जना संक्रमित रहेको प्रमाणित भएको सापकोटाले बताए । तीमध्ये १३ हजार ६९ जनाले एआरटी सेवा लिएका छन् ।

सरकारले जोखिममा रहेकाको परीक्षण गर्ने, परीक्षणबाट एचआइभी संक्रमित भएको भेटिएमा उपचार सुरु गर्ने र सन् २०३० सम्म एचआइभीलाई निर्मूल बनाउने योजना बनाएको छ ।

वैदेशिक रोजगारी, खुल्ला सीमा, संक्रमित पत्ता लागेर पनि नियमित औषधि खान नमान्नुजस्ता कारण एचआइभी संक्रमण घटाउन समस्या भइरहेको जानकारहरु बताउँछन् । रासस