
वाग्मती सफाइ महाअभियानको २३३ औं हप्तामा शनिबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले जानकारी दिए ।
सफाइमा वाग्मती सभ्यता दूत एवं नायिका मनिषा कोइराला, अधिकारसम्पन्न वाग्मती संरक्षण परियोजनाका अध्यक्ष नरेन्द्रराज बस्नेत, जीवन विज्ञानका एलपी भानु शर्मालगायतको सहभागिता थियो ।
आगामी शनिबार २३४ औं हप्ताको वाग्मती सफाइ शान्तिनगरस्थित भी एस निकेतन विद्यालय अघि गरिने सफाइ महाअभियानले जनाएको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९३ औं हप्तामा शनिबार हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जना भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
रुद्रमती सफाइको १९० औं हप्तामा शनिबार रातोपुल–कालोपुल– सिफल–गौशाला हुँदै पुनः रातोपुलसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
विष्णुमती सफाइको १६१ औं हप्तामा तारकेश्वर र टोखा नगरपालिका सीमा मनमैजुमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० जना भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।
मनोहरा नदी सफाइको ३१ औं हप्तामा शनिबार हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मनोहरा सफाइ अभियानले जडीबुटी चोक र कोटेश्वर चोकमा उद्यान निर्माणका लागि सडक विभागसँग अनुमति लिइएको अभियन्ता रुद्र पौडेलले बताए ।
चक्रपथ सफाइको २९ औं हप्तामा सामाखुसी चोकदेखि नयाँ बसपार्कको शिव मन्दिरसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा तीनओटै सुरक्षा निकायलगायत स्थानीय संस्थाको सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।
यसैगरी, मीनभवन आलोकनगर सफाइको २९ औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताइन् ।
यसैगरी, चक्रपथको बाफल सफाइको ११ औं हप्तामा सीतापाइला–बाफल–स्युचाटारसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
सफाइमा कलाकार श्रीकृष्ण सिम्खडालगायत ५०० जना भन्दा बढी अभियन्ताको सहभागिता थियो । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्