
दक्षिण कोरियास्थित सोलमा आयोजित एक भेटवार्ता कार्यक्रममा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले उत्तर कोरियालाई परमाणु शक्तिसम्पन्न राष्ट्रका रुपमा कहिल्यै स्वीकार नगर्ने बताएका हुन् ।
रक्षामन्त्री म्याटिसले परमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमले उत्तर कोरियाको सुरक्षालाई बलियो नभई कमजोर बनाउनेसमेत दाबी गरेका छन् । उनले उत्तरसँगकोे संकट समाधान गर्न वाशिङटनले युद्ध नभई कूटनीतिक हल खोजेको बताए ।
गतहप्ता उत्तर कोरियाली कूटनीतिज्ञ च्वे सन–हीले अमेरिकाले उत्तर कोरियालाई परमाणु शक्तिसम्पन्न राष्ट्रका रुपमा स्वीकार्न तयार हुनुपर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘कोरियाली प्रायद्वीपमा शान्ति सुनिश्चित गर्नका निम्ति अमेरिकाको लागि यो एकमात्र विकल्प हुनेछ ।’
कूटनीतिज्ञ च्वे सन–हीको उक्त अभिब्यक्तिपछि रक्षामन्त्री म्याटिसको उक्त भनाई आएको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।
रक्षामन्त्री म्याटिसले आफ्नो भनाई राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्वर मिलाउँदै अमेरिका र उसका साझेदार राष्ट्रविरुद्ध उत्तर कोरियाले पारमाणु अस्त्रको प्रयोग गरे त्यसको ‘व्यापक’ र ’कडा’ सैनिक जवाफ दिइने बताएका छन् ।
अमेरिका र उत्तरबीचको परमाणु संकट चुलिंदै गर्दा उत्तर कोरियाले यसअघि नै अमेरिकाको सबै भु–भागहरु आफ्नो परमाणु क्षेप्यास्त्रको पहुँचमा रहेको चेतावनी दिइसकेको छ । यसअघि नै उत्तर कोरियाली अधिकारीहरुले परमाणु अस्त्र उत्तर कोरियाका लागि ‘जीवन र मृत्युको विषय’ भएको बताउँदै आएका छन् ।
सुरक्षा परिषद् र अमेरिकालगायतका राष्ट्रको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिएपछि प्योङयाङविरुद्धको आर्थिक प्रतिबन्ध पनि बढाइंदै लगिएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्