आर्थिक सूचक सकारात्मक, निर्वाचनले आर्थिक क्रियाकलाप विस्तार हुने अपेक्षा • Image Khabar Image Khabar


आर्थिक सूचक सकारात्मक, निर्वाचनले आर्थिक क्रियाकलाप विस्तार हुने अपेक्षा


Imagekhabar
१२ कार्तिक २०७४, आईतवार २०:५७

आर्थिक सूचक सकारात्मक, निर्वाचनले आर्थिक क्रियाकलाप विस्तार हुने अपेक्षा

बैंकले आइतबार मुलुकका आर्थिक स्थीति सार्वजनिक गर्दै आर्थिक सूचकहरु सकारात्मक रहेका जानकारी गराएको हो ।

बाढी र डुवानबाट कृषि उत्पादनमा क्षति पुगेको भएता पनि धानबालीमा भएको क्षति न्यूनिकरण गर्न नेपाल सरकारबाट चालिएका कदमहरुका साथै पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेकोले कृषि क्षेत्रको वृद्धिमा सहयोग पुग्ने केन्दीय बैंकको अपेक्षा छ ।

समीक्षा अवधिमा उर्जा आपूर्तिमा सुधार आएको तथा कच्चा पदार्थको आपूर्तिसमेत नियमित रहेकोले उद्योगहरुको क्षमता उपयोगमा विस्तार भएको अनुमान रहेको छ ।

साथै, केही जलविद्युत आयोजनाको निर्माण कार्य यही आर्थिक वर्षमा सम्पन्न हुने भएकोले राष्ट्रिय प्रसारण लाइनमा थप विद्युत जडान हुने र यसबाट औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति बढ्ने देखिएको पनि बैंकले जनाएको छ ।

समीक्षा अवधिमा होटल वेड अकुपेन्सी दरमा वृद्धि भएको र होटल वुकिङ्ग एवम् होटल तथा रेष्टुरेण्टको दर्ता उत्साहप्रद रहेकोले पर्यटन क्षेत्रको वृद्धि सन्तोषप्रद हुने अनुमान गरिएको छ ।

आगामी मंसीर १० र २१ गतेको लागि निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने देखिएको पनि केन्द्रीय बैंकले जनाएको छ ।

यसैगरी, २०७४ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत रहेकोमा सोही महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुवानले तरकारीको मूल्यमा उच्च वृद्धि भएको कारण २०७४ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति केही वृद्धि भई ३.४ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति ७.९ प्रतिशतको तुलनामा भने समीक्षा अवधिको मुद्रास्फीति कम हो । यस अवधिमा विप्रेषण आप्रवाह बृद्धिदरमा भने कमी आएको छ ।

यस अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढी रु. ११५ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.४ प्रतिशतले वृद्धि भई रु. १३० अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुन श्रमस्वीकृति बाहेक) मा कमी आएको छ ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्