२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लमजुङको ‘रक गार्डेन’मा लोभिन थाले पर्यटक, यस्तो छ विशेषता (भिडियो)


0
Shares

‘रक गार्डेन’को अबधारणा शुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुमा रहेको ‘रक गार्डेन’ ले आन्तरिक तथा बाह्य पर्यटकको मन खिच्न थालेको छ ।

घेर्मुको खानीगाउँ सँगै जोडिएको रक गार्डेन पहरै पहराले बनेको छ । कतै गुफा छन्, कतै ओढार । कतै ठुला ठुला सुरुङ भेटिन्छन् ।

निकै लोभलाग्दो रकगार्डेन पुरै चहार्न आधा घण्टा बढी समय लाग्ने ‘रक गार्डेन’ निर्माण समितिका अध्यक्ष कामशार्की गुरुङ बताउँछन् ।

‘रक गार्डेन पर्यटकीय मात्र होईन, ऐतिहासिक रुपमा पनि उत्तिकै महत्व । परापुर्व कालमा पुर्खाहरु कसरी ओढारमा बसे त्यसको झल्को रक गार्डेनमा लिन सकिन्छ ।

पर्यटक आकर्षित गर्न रकगार्डेनलाई अझै ब्यवस्थित बनाउँदै अघि बढ्ने योजना बनाइएको स्थानीय विर्ख गुरुङ बताउँछन् ।

एउटा पहरोबाट अर्को पहरोमा पुग्न पुल बनाइएको छ । पहराभित्रको सुरुङ हुँदै पनि अर्कै ठाउँ जाने बाटो छ ।

गार्डेनको बिचमा बस्ने ठाउँहरु निर्माण भएको छ । घेर्मु स्वास्थ्य चौकीमा कार्यरत आकाश परियार रकगार्डेनमा घुम्न आउँदा प्रकृतिको बेग्लै आनन्द लिन पाइने बताउँछन् ।

रक गार्डेन घुम्न आउनुभएका आन्तरिक पर्यटक विष्णुप्रसाद न्यौपाने गुफै गुफाको बगैचा घुम्न छुट्टै किसिमको अनुभुती भएको भन्दै यसको प्रवद्र्धनमा गाउँपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिन्छन् ।

रक गार्डेनको स्तर उन्नतीका लागि जिल्ला समन्वय समिति, मस्र्याङ्दी गाउँपालिका, वडा कार्यालय आदिको सहयोग छ । रक गार्डेनसँगै होमस्टे र रकस्टेको अबधारणा पनि अघि बढाइएको छ ।

५ सय ८० मिटरको रुट सर्किटमा प्राकृतिक सुन्दरताका दृष्टीकोणबाट निकै मनमोहक छ ।

निकै कलात्मक तरिकाले प्रकृतिले सृजना गरेको ‘रक गार्डेन’ अर्थात चट्टानको बगैंचा घुम्दा पर्यटकले अनौठो र रमाइलो मानेका छन् ।

लमजुङ सदरमुकाम बेसीशहर बाट २२ किमी कच्चीबाटोमा सवारी साधनको प्रयोग गरी ताघ्रिङको रामबजारबाट १५ मिनेटको दुरीमा रक गार्डेन पुग्न सकिन्छ ।