
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले ढुंगेललाई मंगलबारै ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका ढुंगेललाई अदालती प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार चलान गरिएको हो ।
अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्नेछ ।
पक्राउ गरेपछि ढुंगेललाई अदालती प्रक्रिया पूरा गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ८ वर्षअघि सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता ढुंगेललाई फरार भन्दै प्रहरीले पक्रेको थिएन ।
ढुंगेललाई पक्रन पटक–पटक अदालतले दिएको आदेश कार्यान्वयन नगरी अदालतको मानहानि गरेको भन्दै कानुन व्यवसायी दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षकविरुद्ध नै अवहेलनाको मुद्दा हालेपछि भने प्रहरीले अन्ततः ढुंगेललाई पक्रेको हो ।
माओवादी नेता ढुंगेलकै संलग्नतामा श्रेष्ठको २०५५ साल असार १० गते हत्या गरिएको किटानी जाहेरीमा अदालतले दोषी भएको फैसला गरेको थियो ।
२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा–२ बाट निर्वाचित ढुंगेल सभासद रहेकैबेला अदालतबाट दोषी प्रमाणित भएका थिए ।
ढुंगेलसँगै सजाय पाएका माओवादीका अर्का नेता पुष्कर गौतम भने अहिलेपनि जेलमै छन् । ढुंगेलको भने सजाय माफी गराउन तत्कालीन बाबुराम भट्टराई सरकारले राष्ट्रपतिसमक्ष सिफारिस नै गरेको थियो ।
तर, सर्वोच्चले सो सिफारिस कार्यान्वयन नगर्न आदेश दिएपछि ढुंगेल फरारको सूचीमा थिए । नेताका वरिपरी नै घुमिरहने ढुंगेललाई प्रहरीले पनि फेला नपरेको भन्दै पक्रेको थिएन ।
अदालतले दोषी किटान व्यक्तिलाईसमेत पक्रेर कारबाही नगरेकामा पीडित पक्ष र मानवअधिकारवादीहरुले सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि यसअघि कुनै कारबाही भएको थिएन ।
तर, यसपटक भने कानुन व्यवसायी त्रिपाठीले प्रहरी प्रमुखविरुद्ध नै अवहेलनाको मुद्दा हालेपछि बल्ल ढुंगेललाई पक्राउ गरिएको हो ।
एक हप्ताभित्र पक्रन आदेश दिएपनि नपक्रिएको भन्दै कात्तिक ८ गते प्रहरी महानिरीक्षकमाथि नै अदालतको अवहेलन मुद्दा दायर गरिएको थियो । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परे ।
सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई जिल्ला अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसलालाई सदर गरेको थियो ।
२०५५ असार १० गते माओवादी कार्यकर्ताले रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या गरेपछि उज्जनका दाइ गणेशकुमारले ढुंगेलसमेतविरुद्ध किटानी जाहेरी दिएकामा २०५९ मंसिर ६ गते माओवादीले गणेशको पनि हत्या गरेको उज्जनकी दिदी सावित्री श्रेष्ठ बताउँछिन् ।
त्यही उजुरी र प्रहरी प्रतिवेदनका आधारमा २०६१ वैशाख २१ गते जिल्ला अदालत ओखलढुंगाले हत्या ठहर गर्दै ढुंगेललाई कैद सजाय हुनुपर्ने फैसला गरेको थियो ।
त्यसपछि केही समय जेल परेका बालकृष्ण २०६३ सालमा पुनरावेदन अदालतले जिल्लाको फैसला उल्ट्याइदिएपछि जेलमुक्त भएका थिए ।
पछि सर्वोच्चले २०६६ पुस १९ मा जिल्ला अदालतकै फैसला सदर गरी ढुंगेल दोषी रहेको फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्