
उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले उक्त सम्झौतापत्रमा हस्तारक्षर गरे ।
सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक सहकार्य, प्रविधिमा सहकार्य विस्तारका लागि तेस्रो मुलुकमा पनि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । दुई संस्थाबीच सन् १९९३ मा भएको सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।
विभिन्न आठबुँदामा भएको सहमतिमा दुवै पक्षको चासो र हितलाई विस्तार गर्न सहजीकरण गर्दै अघि बढ्ने, व्यापारी प्रतिनिधि आदानप्रदान गर्ने, साझा विषयलाई आदानप्रदान गर्नेजस्ता विषय उल्लेख गरिएको छ ।
सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री थापाले अष्ट्रिया र नेपालबीच भएको औैद्योगिक ज्ञान, सिप तथा प्रविधिलाई आदान÷प्रदान गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे ।
मन्त्री थापाले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्नका लागि द्विपक्षीय उच्च भ्रमण हुनुपर्नेमा जोड दिए । उनले केबलकार अष्ट्रियाको प्रविधि विश्वकै उदाहरणीय भएको उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य डा.सिके पौडेल र उद्योग सचिव यामकुमारी खतिवडाले राजनीतिक तथा नीतिगतरुपमा पनि नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको भन्दै कृषि, ऊर्जा तथा सेवा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्