२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


पेरिस सम्झौतामा अमेरिका सहभागी हुने चीनको अपेक्षा


0
Shares

जलवायु परिवर्तनसम्वन्धी विश्वव्यापी समस्याको समाधानका लागि लड्न अमेरिकाले पनि सहयोग गर्ने चीनका एकजना वरिष्ठ कुटनीतिज्ञले मंगलबार विश्वास व्यक्त गरेका हुन् ।

‘चीनले जलवायु परिवर्तनका वारेमा अमेरिकासँगको सहकार्य बढाउँदै लैजान चाहेको छ,’ जलवायु परिवर्तनसम्वन्धी चीनियाँ विषेश दूत सि झेन्हुअले एक पत्रकार सम्मेलनमा भने ।

पेरिस सम्झौतामा विश्वका सवैजसो देशहरुले सन् २०१५ मा हस्ताक्षर गरेका छन् । उनीहरुले हरितगृह ग्याँस उत्सर्जन कम गर्ने, तापक्रम बढ्ने क्रमलाई घटाउँदै लैजाने लगायतका प्रतिवद्धता पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय प्रतिवद्धतामा अमेरिका सहमत नरहेको गत जुनमा बताएका थिए । उनले जलवायु परिवर्तनसम्बन्धि पेरिस एक्कर्ड (पेरिस सम्झौता)बाट आफू हट्ने जानकारी संयुक्त राष्ट्र संघलाई दिएका थिए ।

सम्झौतालाई नमान्ने ट्रम्पको निर्णयको विश्वसमुदायले आलोचना गरेको थियो । यही सन्दर्भमा चिनियाँ अधिकारीले अमेरिकाले यस विषयमा पुनःविचार गरेर सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेको हो ।

राष्ट्रसंघको अगुवाइमा निकै लामो छलफल पश्चात् सन् २०१५ नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा पारित जलवायु परिवर्तन नियन्त्रण सम्बन्धि सम्झौतालाई विश्वले भने एक ऐतिहासिक उपलब्धिका रुपमा मान्दै आएको छ ।

अमेरिका सहभागी नहुने भनी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयपछि भने यस सम्झौताको भविश्यका बारेमा विभिन्न प्रतिक्रिया सुरु भएका थिए् ।

अमेरिकाकै कारण यो सम्झौता कार्यान्वयनमा आउनबाट नरोकिने धरैको भनाइ छ भने कतिपयले अमेरिका विनाको पेरिस सम्झौताको भविष्यको बहस थालेका थिए ।

हरितगृह ग्यास उत्सर्जनमा प्रभावशाली रुपले न्यूनिकरण गर्ने लक्षसहित विश्वका १९७ देशले हस्ताक्षर गरेको पेरिस सम्झौताबाट अमेरिकी ट्रम्प प्रशासन किन अलग्गिन लाग्यो त भन्ने प्रश्नको जवाफ आजको विश्वले खोजिरेहको छ ।

के अमेरिकालाई जल वायु परिवर्तनको असर पर्दैन र ? यस प्रश्नको उत्तर खोज्ने हो भने विज्ञहरुको भनाइमा सम्पूर्ण विश्व नै पीडित हुने अवस्थामा अमेरिका एउटै देशमात्र यसबाट अछुतो रहन सक्ने कुरै भएन । (रासस÷सिन्ह्वा)