३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


डा. केसीको मागअनुसार विधेयक ल्याउन सत्तापक्षका सांसदहरु असहमत


0
Shares

काठमाडौं, पुस १८ । संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत्को उपसमितिको बैठकले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन नसकेपछि समितिको बैठक नै स्थगित भएको छ ।

बुधबार बसेको उपसमितिको बैठकमा डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउन सत्तापक्षका सांसदहरु सहमत नभएपछि बैठक स्थगित भएको हो ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुले डा. केसीसँग भएका सहमतिअनुसार नै विधेयक ल्याउनुपर्ने अडान लिएका थिए ।

सीटीइभीटीअन्तर्गत्को स्वास्थ्यका कार्यक्रमहरु मन्त्रालयभित्र राख्ने वा आयोगअन्तर्गत् राख्ने र काठमाडौंबाहिर मेडिकल कलेज खोल्ने/नखोल्ने विषयमा सहमति हुन नसकेको हो ।

सरकारले डा. केसीसँग गरेको सहमतिले काठमाडौंबाहिर मेडिकल कलेज खोल्नसमेत समस्या पारेको सत्तापक्षका सांसदहरुको तर्क छ ।

बैठकमा समितिका सभापति जयपुरी घर्तीले डा. केसीलाई फेरि अनशन नबस्न आग्रह गरेकी थिइन् ।

बुधबारको बैठकमा सहमति जुट्न नसकेपछि समितिले छिटोभन्दा छिटो सहमति जुटाएर आउन निर्देशन दिएको छ । अर्को बैठक शुक्रबार बस्नेछ ।

यसैबीच, डा. केसी भने सरकारले आफूसित गरेको सहमतिअनुरुप चिकित्सा शिक्षा विधेयक ल्याउन नखोजेको भन्दै १६औंपटकको अनशनका लागि मंगलबार इलाम पुगेका छन् ।