
कृष्ण बोहोरा (इमेज)
जुम्ला, असार १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले प्रहरीको धरपकडकाबीच शनिबार आमरण अनशन थालेका छन् ।
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बस्ने घोषणा गरेका थिए ।
तर, स्थानीय प्रशासनले शुक्रबार निषेधित क्षेत्र घोषणा गर्दै त्यहाँ अनशन बस्न नपाइने जनायो ।
शनिबार निषेधित क्षेत्र तोड्दै जुम्ला जिल्ला प्रशासन कार्यालयअगाडि अनशन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो ।
त्यसपछि शनिबार दिउँसो डा. केसीले प्रहरी हिरासतमै अनशनको घोषणा गरेका थिए ।
उनलाई प्रहरीले अहिले कभर्डहलमा पुर्याएको छ र डा. केसी त्यहीँ अनशनरत् छन् ।
यसअघि, शनिबारै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षण अस्पताल अवलोकनका लागि जाँदैगर्दा टुँडिखेलको माथिल्लो गेटनजिकै बाटोमै डा. केसीलाई प्रहरीले रोकेको थियो ।
अनशन सुरु नहुँदै अस्पताल अवलोकनका लागि प्रतिष्ठान जाँदैगर्दा बाटोमै प्रहरीले रोकेपछि उनी केही समर्थकसहित जिल्ला प्रशासन कार्यालयतर्फ गएका थिए ।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजीएको भन्दै डा. केसी अनशनमा बसेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएसमा विद्यार्थी भर्ना सुरु हुन नसकेको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको पनि अनशनको विषय छ ।
प्रतिक्रिया दिनुहोस्