Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


ताप्लेजुङमा पनि व्यावसायिक चिया खेती (भिडियो)


0
Shares

चियाको माग र छिमेकीले चियाबाट गरेको आम्दानी र उत्पादन देखेपछि जिल्लाका कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् ।

ताप्लेजुङमा तीन दशक अघि नै चिया खेतीको प्रयास भएको थियो । तत्कालिन वन मन्त्री बिष्णु मादेनले २०४३ सालमा सुकेटारमा चिया र स्याउ खेतीको प्रयास गरे पनि प्राविधिकले अनुपयुक्त भनेपछि खेती हुन सकेको थिएन । त्यसपछि सुकेटारमा चिया लगाउन कसैले माटो परीक्षण पनि गराएनन् र चासो पनि लिएनन् ।

अहिले भने स्थानीयले चिया खेती थालेका छन् । साविकको हाङदेवा गाविसको बुङकुलुङमा पाथीभरा चिया उत्पादक सहकारी संस्थाले उत्पादन तथा चियाको प्रशोधन नै शुरु गरिसकेको छ । चियाको सम्भावना देखेर नै आफुहरुले खेती र प्रशोधन दुबै थालेको ब्यवसायी तथा ब्यवस्थापक बिदुर भट्टराइ बताउँछन् ।

पर्लिन नामका डेनमार्कका व्यवसायीले गुणस्तरीय चिया भएमा वार्षिक ३० हजार टनसम्म प्रशोधित चिया लिन सक्ने बताएकाले बजारको समस्या पनि नभएको दावी गरिएको छ । जबकि जिल्लामा भने बल्ल सात सय किलो उत्पादन हुन थालेको भट्टराई बताउँछन् ।

व्यवसायीले यहाँ उत्पादित चिया गुणस्तर परीक्षणका लागि डेनमार्क र बेलायत पठाएका थिए । अग्र्यानिक चियाको माग डेनमार्कमा अधिक छ । दुबै मुलुकले ताप्लेजुङको चियाको गुणस्तर राम्रो रहेको प्रतिवेदन दिएका छन् । त्यसले त उत्साह पनि बढेको छ ।

व्यवसायीले चिया खेतीका लागि खरिद गरेको सबै जग्गामा बिरुवा रोपिसकेका छैनन् । अझै ६८ रोपनीमा बिरुवा रोप्न बाँकी छ । चार वर्षभित्र सबैमा खेती गरेर वार्षिक सात हजार टन उत्पादन लिने योजना लगानीकर्ताको छ । ‘ग्रिन टी’का रुपमा मात्र उपभोग हुने भएपनि मूल्य राम्रै पाएको कृषक रनहाङ लिम्बुको भनाइ छ ।

करीब डेढ सय रोपनीमा चिया खेती भइरहेको छ भने अझै विस्तार गरिँदै छ । यसैका माध्यमबाट स्थानीयले रोजगारी पनि पाएका छन् ।

ब्रिटिस गोर्खामा कार्यरत सैनिकले यहाँको चिया बेलायत लैजाने काम गरिरहेका छन् । काठमाडौंको बजारमा पनि आइपुग्ने ताप्लेजुङको चियाको मूल्य भने प्रतिकिलो २५ सय रुपैयाँ पर्नेछ ।

(भिडियो रिपोर्ट हेर्नुहोस्)