काठमाडौं । ब्राजिलको सत्ता राष्ट्रवादी नेता जाइर बोल्सोनारुले सम्हालेका छन् ।
गएको अक्टोबर २८ मा भएको चुनावमा वामपन्थी उम्मेदवार फेर्नान्डो खाबालाई हराउँदै राष्ट्रवादी बोल्सोनारु राष्ट्रपतिमा विजयी भएका छन् ।
बोल्सोनारुले स्थानीय समय अनुसार मंगलबार राष्ट्रपतिको शपथ लिएर कार्यभार सुरु गरेका छन् ।
राष्ट्रपतिका रुपमा आफ्नो पहिलो औपचारिक सम्बोधनमा उनले विभेद र विभाजन बिनाको समाज बनाउने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रपतिका रुपमा कांग्रेसमा गरेको सम्बोधनमा राष्ट्रपति बोल्सोनारुले आफूले ब्राजिललाई भ्रष्टाचार, अपराध र आर्थिक अव्यवस्थाबाट मुक्त गराउनका लागि राष्ट्रिय सन्धि चाहेको बताए ।
रंगभेदी, होमोफोविक तथा महिलामाथि पूर्वाग्रही अभिव्यक्तिका कारण उनी निकै विवादित व्यक्ति हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारुलाई बधाई दिँदै अमेरिका उनको साथमा रहेको बताएका छन् ।
शपथग्रहण समारोहमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, हंगेरीका प्रधानमन्त्री भिक्टोर आरबान र पोर्चुगलका राष्ट्रपति मार्सेलो रिबेलो डी सोएसासहितका अतिथि सहभागी थिए ।
पूर्व आर्मी चिफ बोल्सोनारुमाथि अब भ्रष्टाचार तथा अपराधजस्ता आफूले प्रतिबद्धता जनाएका विषयमा काम गर्नु पर्ने हुन्छ । (एजेन्सी)






प्रतिक्रिया दिनुहोस्