काठमाडौं, पुस १७ । अष्ट्रेलियाको बिग बास ट्वेन्टी–२० क्रिकेट लिगका अहिलेसम्मका सबै खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने विकेट लिन सफल भएका छन् ।
मंगलबारको चौथो खेलमा पनि मेलबर्न स्टार्सका सन्दीपले विकेट लिए ।
यसअघिका खेलका तुलनामा उनले मेलबर्न रेनेगेड्सविरुद्ध कम विकेट लिएका हुन् । उनले एक विकेटमात्र झारे ।
खेलमा पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेटको क्षतिमा १४८ रन बनायो ।
डानियल क्रिस्टियनले सर्वाधिक ३२ रन बनाएको इनिङ्समा अलराउन्डर डयाने ब्राभोले सर्वाधिक ३ विकेट लिए ।
सन्दीपले भने ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । सन्दीपले कप्तान टम कुपरलाई ‘बोल्डआउट’ गरेका थिए ।
जारी प्रतियोगितामा सन्दीपले अहिलेसम्म ८ विकेट लिइसकेका छन् ।
स्टार्स ४ अंकबाट तेस्रो स्थानमा
आक्रामक ब्याटिङ गरेको सन्दीपको स्टार्सले खेल १३ बल खेल्न बाँकी छँदै ७ विकेटले जित्यो ।
मार्कस स्टोइनिसले ४९ बलमा अविजित ७८ रन बनाएपछि स्टार्सले सहज जित निकालेको हो ।
जितसँगै स्टार्स ४ अंकबाट लिग तालिकाको तेस्रो स्थानमा पुगेको छ ।








प्रतिक्रिया दिनुहोस्