दोलखामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते • Image Khabar Image Khabar


दोलखामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते


Imagekhabar
१६ असार २०७५, शनिबार ०३:२८

दोलखामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते

चरिकोट, असार १६ । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

दुर्घटनामा परी जीपचालक जिरी नगरपालिका–९, ठूलोपातलका अन्दाजी २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो ।

जीपको अगाडिको सिसा फुटेर भुइँमा खसेका चालकको सोही जीपले किचेर मृत्यु भएको हो ।

जिल्लाको वैत्यश्वर गाउँपालिका–७, मार्वुबाट धानको भूस लिएर जिरी नगरपालिका–९ तर्फ जाँदै गरेको बा१३च ६१९६ नम्बरको शनिबार बिहान ४ बजे खावाडाँडानजिकै दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ ।

जीप लामोसाँघु–जिरी सडकअन्तर्गत् खावा सडकखन्डस्थित वैत्यश्वर गाउँपालिका–३ र ४ को बीचमा पर्ने सडकबाट तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा परी जिरी नगरपालिका–९ का २० वर्षीय मंगले तामाङ, ५२ वर्षीय दिलबहादुर तामाङ र वैत्यश्वर गाउँपालिका–१, गैरीमुदीका ५५ वर्षीय कर्णबहादुर तामाङ घाइते भएका छन् ।

घाइते सबैको मैनापोखरीस्थित दाहाल मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्