
यहाँ वाम गठबन्धन र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै दलका कार्यकर्ता हरेक दिन नाचगान गर्दै मत मागिरहेका छन् । तर, सडकमाथि रहेको चेपाङबस्ती भने सुनसान छ ।
स्थानीय तह निर्वाचनमा मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आएका चेपाङ अहिले भोट माग्न कोही नआएको बताउँछन् । दक्षिणी धादिङको ब्रुसबाङमा ३६ घर चेपाङ समुदायको बस्ती छ ।
पृथ्वीराजमार्गको मलेखुबाट ९ घन्टाको यात्रापछि पुगिने उक्त गाउँ महाभारत पर्वतको डाँडामा पर्छ । चितवन सीमा क्षेत्रमा पर्ने ब्रुसबाङ अभावै–अभावले ग्रस्त गाउँ हो ।
गाउँका धनी भनिएका टेकबहादुर चेपाङको घरमा आफ्नो बारीको उत्पादनले तीन महिनामात्र खान पुग्छ ।
‘खानेकुरा नभएपछि सिस्नु र टाँकीको मुन्टाको भरमा जीवन चलाउनुपरेको छ’–स्थानीयवासी सूर्यमाया चेपाङले भनिन् ।
गाउँमा सिस्नुको बोट हुने र टाँकीको बोट हुने धनी मानिन्छ । खानेपानी दुई घन्टा टाढा गएर ल्याउनुपर्ने हुन्छ । एकपटक पनि स्वास्थ्य संस्था नगइकन सुत्केरी हुने महिलाको संख्या अत्यधिक छ । गाउँबाट पाँच घन्टा टाढा स्वास्थ्यचौकी रहेको छ ।
‘स्वास्थ्यचौकी होइन, झाँक्रीकहाँ गएर झारफुक गर्नुपर्ने बाध्यता छ’–स्थानीयवासी टेकबहादुर चेपाङले भने ।
चुनाव नजिकिँदै गर्दा पनि ब्रुसबाङवासीलाई चुनावबारे जानकारी नभएको उनी बताउँछन् ।
‘चुनाव आयो भन्ने खबर रेडियोमा सुनियो । कस्तो चुनाव ? भोट हाल्न सिकाएका छैनन् । भोट माग्नसमेत नेताहरु आ’का छैनन् । कसलाई भोटदिने भन्ने निर्क्योल भा’छैन’–गाउँका अगुवा चेपाङले भने–‘गाउँमा न उम्मेदवार आए, न भोट हाल्न सिकाए ।’ रासस
प्रतिक्रिया दिनुहोस्