७ असार २०८२, शनिबार | Sat Jun 21 2025


को शीर्ष नेतासँग कसको भिडन्त ? यी हुन् सबैको ध्यान खिचेको चुनावी भिडन्त


0
Shares

प्रतिनिधिसभा सदस्यका लागि दलका शीर्ष नेताहरुसँग प्रतिस्पर्धामा उत्रिएकाहरु पुरानै अनुहारका बढी छन् भने कतिपय स्थानमा अबको संसदमा हुनैपर्ने ठानिएकाहरुबीच पनि प्रतिस्पर्धा देखिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनेपछि प्रदेश नम्बर–२ बाहेकका अधिकांश स्थानमा नेपाली कांग्रेस र वाम गठबन्धबीच नै चुनावी प्रतिस्पर्धा देखिएको छ । दलका ‘हेभीवेट’ लडेका क्षेत्रहरुमा झन् धेरैको चासो देखिएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निरन्तर चुनाव लडदै आएको डडेल्धुरामा यसपटक पनि उनका प्रतिस्पर्धी अघिल्ला निर्वाचनमाजस्तै माओवादीका खगराज भट्ट नै छन् ।

देउवा २०४८ पछिका निर्वाचनमा त्यहीँबाट विजयी बन्दै आएका छन् भने भट्ट २०६४ र २०७० को निर्वाचनमा देउवासँगै भिडेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली यसपटक पनि झापा–५ बाट निर्वाचन लड्दैछन् । २०६४ को संविधानसभा निर्वाचनमा हार व्यहोरेका ओली २०७० को संविधानसभा निर्वाचनमा विजयी भएका थिए भने अहिले कांग्रेसका डा. खगेन्द्र अधिकारीसँग प्रतिस्पर्धा गर्दैछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०६४ को निर्वाचनमा जित हासिल गरेपनि २०७० को निर्वाचनमा दुई स्थानबाट लड्दा एक स्थानबाटमात्र विजयी भएका थिए । अहिले उनी नयाँ निर्वाचन क्षेत्र चितवन–३ बाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

उनीसँग २०७० को निर्वाचनमा चितवन–३ बाटै निर्वाचित राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे भिड्दैछन् ।

काठमाडौं–२ मा पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग कांग्रेसका दीपक कुइँकेल मैदानमा छन् भने इलाममा एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालसँग कांग्रेसका भूपेन्द्र कट्टेल प्रतिस्पर्धामा छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तनहुँ–१ मा एमालेका किसान श्रेष्ठ प्रतिष्पर्धामा छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट वाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद दाहालसँग चौथोपटक भिड्दैछन् ।

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट निर्वाचन प्रतिस्पर्धा गर्दैछन् । उनलाई उम्मेदवारी फिर्ता लिएर कांग्रेसले सहयोग गरेको छ भने आफ्नै पार्टीका ‘बागी’ उम्मेदवार चन्दे्रश्वर झा र वाम गठबन्धनका विजयकुमार चौधरी उनीसँग प्रतिस्पर्धामा छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि निर्वाचन भारी परेको छ । कांग्रेसका सकलदेव सुतिहार, बागी बनेका राजपाकै सहमहामन्त्री जयप्रकाश ठाकुर र वाम गठबन्धनका उमेश यादव उनीसँग प्रतिस्पर्धामा छन् । सुतिहार निवर्तमान सांसद हुन् । उमेश निवर्तमान मन्त्री हुन् ।

शीर्ष नेताहरुको क्षेत्रमा जत्तिकै ध्यान छ, आममानिसको गोरखा र धनुषामा । गोरखा क्षेत्र नम्बर–२ मा नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । दुवैको पृष्ठभूमि एकै भएकाले यो चुनावी अभियान थप रौनक बनेको छ ।

कांग्रेस नेता विमलेन्द्र निधिकै क्षेत्रमा यसपटक राजपा अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतो चुनाव लड्न पुगेका छन् । धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा निधि र महतो भिड्न लागेका हुन् । यहाँ पनि चुनावी सरगर्मी रोचक बन्दैछ ।

काठमाडौं–५ मा पनि एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेस नेता डा. प्रकशशरण महत भिड्दैछन् । पोखरेल त्यही क्षेत्रबाट विगतमा निर्वाचित र पछिल्लो चुनावमा पराजित व्यक्ति हुन् भने डा. महत पहिलोपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

गुल्मीमा एमाले नेता प्रदिप ज्ञवली र कांग्रेस नेता चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

मोरङ–५ मा पनि कांग्रेस नेता डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं–४ को चुनावी परिणाम पनि सबैलाई चासोको विषय बनेको छ, जहाँ कांग्रेसका युवा नेता गगनकुमार थापासँग एमालेका डा. राजन भट्टराईले प्रतिस्पर्धा गर्दैैछन् । थापा यसअघि सोही क्षेत्रबाट निर्वाचित हुन् भने समानुपातिकबाट सांसद रहेका भट्टराई पहिलोपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र एमालेका निवर्तमान सांसद शेरबहादुर तामाङबीच प्रतिस्पर्धा हुँदैछ ।

झापा–३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं–१ पनि यसपटक निर्वाचनको फरक ढंगबाट चर्चा जारी छ । कांग्रेस नेता प्रकाशमान सिंहसँग विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रको प्रतिस्पर्धा हुने चर्चा छ । सोही क्षेत्रमा वाम गठबन्धनले माओवादीका अनिल शर्मालाई उठाएको छ ।