
प्रधानमन्त्री निवास बालुवाटारमा प्रा. डा. गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले मन्त्रिमन्डलले पारित गरेको ऐन विषयमा थप जानकारी लिइने बताए ।
प्रधानमन्त्री देउवाले ‘ऐन कुनै हालतमा पनि नरोकिने र प्रमाणीकरण हुने नै छ’ भन्दै प्रा. डा. केसीलाई विश्वस्त हुन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेटमा प्रा. डा. केसीले अध्यादेशमार्फत् चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पहल गर्न आग्रह गरेका थिए ।
प्रा. डा. केसीले शिक्षा मन्त्रालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा नेपाल मेडिकल काउन्सिललाई लेखेको पत्रको विषय र एमबीबीएस परीक्षामा भएको चिटकान्डको प्रतिवेदन शीघ्र सार्वजनिक गर्नसमेत अनुरोध गरेका थिए ।
प्रधानमन्त्रीले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई टेलिफोन गरी काउन्सिलबाट पत्र फिर्ता ल्याउन निर्देशनसमेत दिएको भेटमा सहभागी डा. अभिषेकराज सिंहले बताए । रासस
प्रतिक्रिया दिनुहोस्