
काठमाडौं, पुस १६ । त्रिभुवन आर्मी क्लबको दोस्रो स्थानमा रहेर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सकाउने सम्भावना कमजोर बनेको छ ।
१२औं चरणको खेलमा सोमबार जावलाखेल युथ क्लबसित गोलरहित बराबरी खेलेपछि आर्मीको दोस्रो स्थानमा रहने सम्भावना लगभग सकिएको हो ।
सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा आर्मीले गोलका लागि गरेका आधादर्जन प्रयास जावलाखेलको डिफेन्स लाइनले विफल बनाएको थियो ।
बीबीसीले फ्रेन्ड्सलाई ३–० ले हरायो
सोमबारै भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले फ्रेन्ड्स क्लबलाई ३–० ले हरायो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको बीबीसीको एकतर्फी खेलमा काजिम बुसारीले दुई तथा अब्दु सियाले एक गोल गरे ।
एकै खेलमा १० गोल
सोमबारै भएको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबसित ५–५ गोलको बराबरी खेल्यो ।
एन्फा कम्प्लेक्समै भएको खेलको ३० मिनेटमै मच्छिन्द्रले ४–१ को अग्रता लिएर पनि बराबरीमै चित्त बुझाउनुपर्यो ।
एनआरटी पुछारमै
लिगमा ११ खेलबाटै उपाधि जितिसकेको मनाङ–मस्र्याङ्दी क्लबको ३३ अंक छ भने दोस्रो स्थानको संकटा क्लबको २५ तथा तेस्रो स्थानको थ्रीस्टार क्लबको २३ अंक छ ।
एक खेल बढी खेलेको आर्मीको २२ अंक हुँदा नेपाल पुलिस क्लबको १८ तथा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको समान १७ अंक छ ।
६ अंकबाट एनआरटी पुछारमै रहेको छ भने ७ अंकबाट मच्छिन्द्र १३औं तथा ९ अंकबाट फ्रेन्ड्स १२औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्