७ असार २०८२, शनिबार | Sat Jun 21 2025


श्रीमान्–श्रीमती नै उम्मेदवार, यस्तो छ सूची


0
Shares

प्रमुख दलहरुबीच तालमेल हुँदा वरिष्ठ भनिने नेताहरुलेसमेत उम्मेदवार बन्न नपाइरहेको अवस्थामा कतिपय भने दम्पती नै उम्मेदवार बनेका हुन् ।

श्रीमान्–श्रीमती नै उम्मेदवार बन्ने सूचीको प्रथम स्थानमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा छन् ।

प्रधानमन्त्री देउवा प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवार बनेका छन् भने पत्नी आरजु प्रतिनिधिसभाकै लागि कैलाली क्षेत्र नम्बर–५ बाट उम्मेदवार छिन् ।

यस्तै, पूर्वरक्षामन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण दुवैजना समानुपातिकको सूचीमा छन् ।

यसैगरी, माओवादी केन्द्रले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी पाँचजनाको जोडीलाई ‘पुरस्कृत’ गरेको हो ।

माओवादी नेता वर्षमान पुन प्रतिनिधिसभाका लागि रोल्पाबाट उम्मेदवार बनेका छन् भने उनकी श्रीमती एवं पूर्वसभामुख ओनसरी घर्तीमगर समानुपातिक सूचीमा छिन् ।

यसैगरी, पूर्वगृहमन्त्री शक्ति बस्नेत प्रतिनिधिसभाका लागि जाजरकोटबाट उम्मेदवार बनेका हुन् भने बस्नेतकी श्रीमती सत्या पहाडी पनि समानुपातिक उम्मेदवार छिन् ।

यस्तै, माओवादी नेता देव गुरुङ लमजुङबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार बनेका छन् भने उनकी श्रीमती यशोदा सुवेदी समानुपातिकको सूचीमा छिन् ।

यस्तै, माओवादीतर्फका अर्का नेता हितमान शाक्य काठमाडौं–१० बाट प्रत्यक्षको उम्मेदवार बन्दा उनकी श्रीमती अमृता थापामगर पनि समानुपातिक उम्मेदवार बन्न सफल भएकी छन् ।

यस्तै, माओवादी केन्द्रकै नेता कुलबहादुर केसी रोल्पामा प्रदेशसभा ‘क’बाट उम्मेदवार छन् भने उनकी श्रीमती तारा घर्ती केसी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन् ।

उता, नेकपा एमालेबाट पनि ६ जनाको जोडीले उम्मेदवार बन्ने मौका पाएको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभातर्फ बर्दिया क्षेत्र नम्बर–१ को उममेदवार छन् भने उनकी श्रीमती तुलसा थापामगर समानुपातिकतर्फको उम्मेदवार छिन् ।

यस्तै, एमाले स्थायी समिति सदस्य शंकर पोखरेल दाङ क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’को उम्मेदवार बनेका छन् भने उनकी श्रीमती सुजिता शाक्य समानुपातिक सूचीमा अटाएकी छन् ।

एमालेकै अर्का नेता शेरबहादुर तामाङ सिन्धुपाल्चोकबाट प्रदेशसभाको उम्मेदवार बन्दा उनकी श्रीमती उषाकला राई समानुपातिक सूचीमा परेकी छन् ।

त्यसैगरी, एमाले नेता कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्दा उनकी श्रीमती बिना श्रेष्ठ समानुपातिक उम्मेदवार बन्न सफल भएकी छन् ।

त्यस्तै, अर्का एमाले नेता रघुवीर महासेठ धनुषाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् भने उनकी श्रीमती जुली महतो समानुपातिक उम्मेदवारको सूचीमा परेकी छन् ।

त्यसैगरी, एमालेकै विरोध खतिवडा मकवानपुरबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् भने उनकी श्रीमती मुनु खतिवडा समानुपातिक सूचीमा पर्न सफल भएकी छन् ।

ठूला दलमात्र नभएर साना दलमासमेत नातावाद हावी भएको देखिन्छ । नेकपा मालेका महासचिव सीपी मैनाली र उनकी श्रीमती निलम खड्का समानुपातिक सूचीमा रहेका छन् ।

त्यस्तै, राप्रपाका सगुन लावती र उनकी श्रीमती बबिना लावती दुवैजना समानुपातिक सूचीमा पर्न सफल भएका छन् ।

त्यस्तै, राप्रपाकै वुद्धिमान तामाङ र उनकी श्रीमती सरस्वती तामाङ पनि समानुपातिक सूचीमा छन् ।

राजपा नेपालका अनिल झा रौटहटबाट प्रतिनिधिसभाको उम्मेदवार बन्दा उनकी श्रीमती डिम्पल झा भने समानुपातिक उम्मेदवार बनेकी छन् ।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष अशोक राई सुनसरीबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् भने उनकी श्रीमती सुशीला राई समानुपातिक उम्मेदवार सूचीमा परेकी छन् ।