काठमाडौं, असार १६ । मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर शनिबार (आज)देखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको हो ।
मध्य र आसपासका केही स्थानमा भने हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको छ ।
मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपालनजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
उनकाअनुसार अझै एक/दुई दिन पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यमखालको र केही खास (पकेट) क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
मनसुनी रेखा नेपालको नजिक (पूर्वी आकाश हुँदै पश्चिमतर्फ फैलिएको अवस्थामा) रहेको र यो तल भरेपछि भारतका विभिन्न क्षेत्रमा बढी वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ ।
यस वर्षको मनसुन यही असार १४ गतेदेखि देशैभरि फैलिएको महाशाखाले जनाएको थियो ।
गत जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको महाशाखाले घोषणा गरेको थियो ।
मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्णरूपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुनसकेको थिएन ।
मनसुनी वर्षाको गतिविधि बढेकाले दुई दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौंमा चार मिलिमिटर वर्षा भएको छ ।
सबैभन्दा बढी ओखलढुंगामा २४ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा ८, जुम्लामा ८ र वीरेन्द्रनगरमा तीन मिलिमिटर वर्षा भएको छ ।
बदली र वर्षाले उपत्यकाको तापक्रम दुई दिनको तुलनामा तीन डिग्री घटेर शनिबार अधितकतम् तापक्रम २७ मा झरेको छ भने न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।
यसअघि, तीन दिनसम्म उपत्यकाको ३० देखि ३१ डिग्रीको हाराहारीमा अधिकतम् तापक्रम पुगेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्