Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरापी’ सेवा सुरु हुने


0
Shares

आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि तिलगंगा आँखा अस्पतालले सो सेवा सुरु गर्न लागेको हो ।

अस्पतालका क्यान्सर विभागका प्रमुख एंव आँखा क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकार स्थापितले ‘केमो’का लागि बाहिर बिरामी पठाउँदा उनी फर्केर नआउने, उपचार बीचमै छाड्ने र नियमित जाँचमा नआउने क्रम बढ्दै गएपछि अबको एक महिनापछि सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी गराइन् ।

उनले भनिन्, ‘आँँखाका क्यान्सर भएका बच्चाका लागि कान्ति बाल अस्पतालमा पठाउने गरिएको छ, त्यहाँ पुगेका बिरामी धेरै फर्केर आउदैनन्, हाम्रो निगरानीमा नै उपचार गर्न तिलगंगामा नै यो सेवा सुरु गर्न लागेका हौँ ।’

एकजना नर्सले तालीम लिएर आइसकेकी छन्, अन्य भौतिक पूर्वाधार निर्माण पनि करिब अन्तिमचरणमा पुगिसकेको छ उनले भनिन्, ‘क्यान्सरका बिरामीले पाउने एक लाखसम्मको उपचार सुविधा पनि सुरु गर्ने विषयमा काम भइरहेको छ ।’

‘केमोथेरापी गर्नुअघि बेहोस् पारेर हेर्ने मेसिन र रेट क्याम मेसिन (ट्युमर हेर्ने, कति बाँकी छ, पूरै हटेको छ वा छैन, नहटेको भए हटाउने मेसिन) पनि हामीले ल्याउँदैछौं, जुन मेसिन नेपालमै छैन,’ आँखा क्यान्सर विशेषज्ञ डा.स्थापितले भनिन् । यो मेसिन जर्मनस्थित एक फाउन्डेशनले दान गर्न लागेको जनाएको छ । रासस