Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


दाङमा रोचक प्रतिस्पर्धा, चर्चित नेतालाई ‘स्थानीय’ उम्मेदवारको टक्कर (भिडियो)


0
Shares

तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा सबैको चासो क्षेत्र नं २ मा परेको छ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोख्रेल चुनाव लडेको क्षेत्र भएकाले चर्चा चुलिएको हो ।

बाम गठबन्धनमा प्रतिनिधिसभातर्फ शुरुमा महरा र पोखरेल दुबैले यही क्षेत्रमा दावी नछाडेकामा अन्तिममा पोखरेललाई प्रदेश मुख्यमन्त्री बनाउने शर्तमा महरालाई उम्मेदवार बनाइएको छ ।

पोखरेल प्रदेश (१) बाट प्रतिस्पर्धामा छन् । दुबै नेता पार्टीभित्र प्रभावशाली हुन् । महरालाई कांग्रेसका राजु खनालले टक्कर दिंदैछन् ।

खनाल २०७० सालमा क्षेत्र नं ३ बाट भारी मतान्तरका साथ विजयी भएका थिए ।

प्रदेश सभातर्फ भने राष्ट्रिय पहिचान बोकेका उम्मेदवार पोख्रेललाई काँग्रेसकै अर्का नेता कमलकिशोर घिमिरेले टक्कर दिंदै छन् ।

घिमिरे दाङको राजनीतिमा युवाबीच लोकप्रिय, गाउँसम्मै पहुँच र पाकाबीच पनि घुलमिल हुने नेता मानिन्छन् ।

राजनीतिक उचाईका हिसावले भने पोख्रेलको कद उँचो छ । यद्यपि, प्रतिष्पर्धा निकै कसिलो हुने आंकलन छ ।

प्रदेश २ मा बामगठबन्धनबाट अमरबहादुर डाँगी र काँग्रेसबाट भरतबहादुर न्यौपाने मैदानमा छन् ।

यस क्षेत्रमा पर्ने घोराही उपमहानगरपालिका १५ वटा वडा र तुल्सीपुर उपमहानगरपालिकाको ४ वटा वडा एवं बंगलाचुली गाउँपालिकामा स्थानीय तहको चुनावमा भने अधिकांश क्षेत्र एमाले–माओवादीले जितेका थिए ।

दोस्रो संविधानसभामा दाङका पाँचै क्षेत्र कांग्रेसले जित्दा पहिलो संविधानसभामा भने माओवादीले पाँचै क्षेत्र जितेको थियो ।

३ वटा निर्वाचन क्षेत्र रहेको दाङमा प्रतिनिधिसभाका लागि सवैभन्दा थोरै मतदाता क्षेत्र नं २ मा रहेका छन । क्षेत्र नं २ मा १ लाख ८ हजार ८ सय ७० मतदाताले भोट हाल्न पाउने छन ।

प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं २ (१) मा ५१ हजार ७ सय र २ (२) मा ५७ हजार १ सय ७० मतदाता रहेका छन ।

जसका लागि ४८ मतदान स्थलमा १ सय २८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।