दलहरुले आफ्ना चुनावी घोषणापत्रमा वैचारिक बहसलाई प्राथमिकता दिए पनि नेताहरु भने चुनावी भाषणमा व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।
लोकतान्त्रिक र वाम गठबन्धनमा विभाजित राजनीतिक दलहरुले वैचारिक बहसमा आफ्ना प्रतिस्पर्धीको तिखो आलोचना गरिरहेका छन् ।
लोकतान्त्रिक र वाम गठबन्धनमा आबद्ध दलहरुले चुनावी घोषणापत्रमै एक अर्काप्रति विष वमन गरेका छन् ।
कांग्रेसले कम्युनिष्टहरुलाई ‘हत्यारा र राज्य आतंकका पक्षपाती’ भनेको छ भने एमाले-माओवादीले कांग्रेसलाई ‘दलाल’को संज्ञा दिएका छन् ।
चुनावी ध्रुवीकरणसँगै बैचारिक बहसमा उत्रन खोजेका दुवै पक्षको आरोप अहिलेको अवस्थामा नसुहाउँदो देखिंदै छ । तर, एकले अर्कालाई जबरजस्त ‘खराव’ प्रमाणित गर्न दुवै पक्ष मेरिमेटेर लागेका छन् ।
नेपाली कांग्रेसले कम्युनिष्टहरु लोकतन्त्रको पक्षमा कहिल्यै निष्ठापूर्वक नउभिएको आरोप लगाएको छ ।
‘कम्युनिष्टहरु लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छ्न’ उसले भनेको छ, ‘कम्युनिष्टहरु शान्तिका पक्षधर हुँदैनन्, तिनले हिंसा, व्यक्ति हत्या र राज्य आतंक सिर्जना गर्ने गर्छन् ।’
एमाले र माओवादी केन्द्रले भने कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गर्दै ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएका छन् ।
वाम गठबन्धनले कांग्रेस दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित भएको आरोप लगाएको छ ।
कांग्रेसले एमाले र माओवादीलाई सुनियोजित संस्थागत भ्रष्टाचारमा संलग्न रहेको, राष्ट्रिय एकता र समृृद्धिको वाधक बनेको, अवसरवादी प्रवृत्ति देखाउने गरेको र अतिवाद एवं नक्कली राष्ट्रवादको पासोमा पर्दै गरेको आरोप लगाएको छ ।
कांग्रेसले कम्युनिष्ट गठबन्धनले निर्वाचन जितेमा नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्ने निष्कर्ष निकालेको छ ।
त्यसैगरी राष्ट्रिय र अन्तराष्ट्रिय लगानी घट्ने र पूँजी पलायन हुने दाबी पनि उसले गरेको छ ।
बाम गठबन्धनले भने कांग्रेसलाई विदेशी हस्तक्षेप निम्त्याएको, विदेशसामु आत्मसमर्पण गरेको र जनविरोधी काम गरेको आरोप लगाएको छ ।
उसले अर्थतन्त्रलाई कमजोर तुल्याएको र भ्रष्टाचारलाई संरक्षण गर्दै संस्थागत गर्ने काम गरेको आरोपसमेत लगाएको छ ।
चुनावी घोषणापत्रमा एकअर्कोमाथि हिलो छ्यापाछ्पाप गर्ने दलहरुले यसअघिका राजनीतिक परिवर्तनमा गरिएको सहकार्यलाई चटक्कै बिर्सिए झैं गरेका छन् ।
नेपालको राजनीतिमा दलहरुबीचको सहकार्य कतिखेर कहाँ आवश्यक पर्छ त्यतिकुरा पनि ख्याल नगरी तल्लो स्तरमा गालीगलौजमा उत्रिनु सभ्य राजनीतिक संस्कार भएन कि ?





प्रतिक्रिया दिनुहोस्