Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


प्रदेश–४ को मुख्यमन्त्री को होला ? यी हुन् सम्भावित नाम


0
Shares

प्रदेश नम्बर–४ का उम्मेदवारहरु यस क्षेत्रका प्राकृतिक सम्पदाको भरपुर उपयोग गर्दै मुलुककै समृद्ध प्रदेश बनाउने प्रतिबद्धताका साथ मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

हिमाल, पहाड र तराईको भू–भाग समेटिएको प्रदेश नम्बर–४ उत्तरी चीन र दक्षिणमा भारतसँग नाका जोडिएको छ । पर्यटन, कृषि र जलस्रोतमा धनी यो प्रदेशमा ११ ओटा जिल्ला समेटिएका छन् ।

देशकै प्रमुख पर्यटकीय सहर पोखरादेखि हिमालपारिको जिल्ला मनाङ र मुस्ताङ पनि यही प्रदेशमा समेटिएका छन् ।

कास्कीका फेवा, रुपा र बेगनास तालसहित विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको मनाङको तिलिचो तालका साथै प्रसिद्ध मुक्तिनाथ क्षेत्र पनि प्रदेश–४ मै पर्छ ।

यस प्रदेशमा रहेका अनगिन्ती सम्भावनालाई व्यवहारमा उतार्ने प्रतिबद्धताका साथ विभिन्न राजनीतिक दलका उम्मेदवारहरु आगामी निर्वाचनमा मत माग्न गाउँ–सहरमा घुमिरहेका छन् । यसले पनि यो प्रदेशमा निर्वाचनको माहोल रोचक बन्दै गएको छ ।

दुई चरणमा निर्वाचन हुने यो प्रदेशमा कास्की, पर्वत, नवलपुर, तनहँु र स्याङ्जामा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ भने अरु जिल्लामा पहिलो चरणमा मंसिर १० गते नै निर्वाचन हुनेछ ।

प्रदेश–४ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि १८ र प्रदेशसभातर्फ ३६ गरी कुल ५४ जना सदस्य निर्वाचित हुनेछन् । यो प्रदेशबाट करिब १४ लाख ८० मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

यस क्षेत्रमा विभिन्न दलबाट ३६० जना र २३ जना स्वतन्त्र गरी ३८३ जना चुनावी मैदानमा रहेका छन् ।

प्रमुख दलका प्रमुख नेताहरु नै प्रदेश नम्बर–४ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१, कांग्रेसका महामन्त्री डा. शशांक कोइराला नवलपुर–१, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२, अर्जुन जोशी पर्वत–१, कानुनमन्त्री यज्ञबहादुर थापा कास्की–१ बाट र पूर्वमन्त्री रोमी गौचन थकाली मुस्ताङबाट प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, कांग्रेसको सहयोगमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लडिरहेका छन् ।

वाम गठबन्धनतर्फ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा–२, नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारी कास्की–२, एमालेकै खगराज अधिकारी कास्की–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

कतिपय चर्चित नेताहरु प्रदेशसभातर्फको निर्वाचनमा उत्रिएका कारण प्रदेशको पहिलो मुख्यमन्त्री को बन्ला भन्ने चर्चा पनि उत्तिकै हुने गरेको छ ।

नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ लमजुङ ‘क’ र एमालेका प्रदेश संयोजक किरण गुरुङ तनहुँ–२ ‘ख’बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् । उनीहरु दुवैलाई मुख्यमन्त्रीको दाबेदारकोरुपमा हेरिएको छ ।

कांग्रेसले मुख्यमन्त्रीका दाबेदारको नाम घोषणा नगरे पनि पर्वत ‘क’का नवराज गुरुङ, तनहुँ–१ ‘ख’का ध्रुव वाग्ले, नवलपुर ‘क’का कृष्णचन्द्र पोखरेल, नवलपुर ‘ख’का महेन्द्रध्वज जिसी, तनहुँ–२ ‘क’का प्रदेशसभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई कांग्रेसले अघि सार्नसक्ने सम्भावित मुख्यमन्त्रीकोरुपमा हेरिएको छ ।

यो प्रदेशमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।